काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीका उपमहासचिव जनार्दन शर्मा पर पुगेकाले फर्किन अलि बेर लाग्ने बताएका छन् । पार्टीले तयार पारेको भिडिओ अन्तर्वार्तामा बोल्दै उनले शर्माले आत्मालोचना नगरेको भएपनि बैठकपछि धेरै कुरा महसुस गरेको पाएको बताए ।
उनले भने, ‘स्थायी कमिटी सर्वसम्मत भएको छ, एकाधबाहेक। तपाईँबाट बेठिक भएको स्वीकार गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ । उहाँले विगतको जस्तो स्पष्टीकरण दिने जमर्को गर्नुभएन । तर सकारात्मक सङ्केत देखिन्छ । उहाँ अलि पर पुग्नुभएकाले फर्किन अलि बेर लाग्छ । मलाई विश्वास छ, स्थायी कमिटी बैठकको बहस उहाँलाई परेको छ ।’
उनले अघिल्लो बैठकमा लेखेर दिएको भएपनि विचार, राजनीतिक कार्यदिशा पनि नभएको जिकिर शर्माले आफ्नो विचार हो भनेर पनि दाबी नगरेको बताए ।
पार्टीमा समस्या आउने र समाधान हुने प्रक्रिया चलिरहने बताए । अब फेरि पार्टीभित्र गुटबन्दी दोहोरिए कारबाहीको दायरामा जाने बैठकको निष्कर्ष रहेको सुनाए ।
उनले थपे, ‘अन्तर्विरोध नयाँ नयाँ ढङ्गले आइ नै रहन्छ । यो अन्तर्विरोधको अन्त्य हुँदैन किनभने जीवन्त पार्टीमा अन्तर्विरोध निरन्तर आइरहन्छ । हामी छलफललाई, बहसलाई विचार, सिद्धान्त, कार्यदिशा, दृष्टिकोण, रणनीति, कार्यनीतितर्फ लैजान बल गर्छौँ । त्यसले पार्टीलाई पनि माथि लान्छ र कार्यक्रम पनि वैज्ञानिक, वस्तुवादी ढङ्गले अगाडि बढ्न सकिन्छ ।’
उनले पार्टीको टार्गेट ०८४ को चुनावमा बहुमत ल्याउने रहेकाे भन्दै पार्टीले अब सडकदेखि सदनसम्मको सङ्घर्षलाई प्रभावकारी ढङ्गले चलाउने बताएका छन् ।
माओवादीका प्रवक्ता समेत रहेका सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले विपक्षी मात्रै होइन सरकारमा रहेका दलहरूलाई पनि एकैठाउँमा ल्याउन सफल हुनुभएको छ । निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधिको विषयमा मात्रै होइन समग्र विषयमा छलफल भएको छ । अब हाम्रो आन्दोलन तत्कालीन कार्यनीतिसँग मात्रै होइन, रणनीतिसँग पनि जोड्नुपर्छ भन्ने छ ।’
उनले थपे, ‘समाजवादी क्रान्तिको आधार तयार पार्नको लागि सडककै दबाब प्रभावकारी हुन्छ। तर सदनलाई पनि गुणात्मक ढङ्गले प्रभावकारी पार्छाैँ । १५ गते सुरु हुने अभियान आन्दोलनको रूपमा बुझे पनि हुन्छ। हाम्रो कार्यनीतिक हिसाबले ०८४ को चुनावमा बहुमत ल्याउने नै हो टार्गेट। अब हामी जे गर्छाैँ । समाजवादी क्रान्तिको रणनीतिसँग जोडिन्छ। हाम्रो पहिचान गुमेको जस्तो भएको थियो, अब फेरि स्थापित गर्ने गरी जान्छौँ ।’


प्रतिक्रिया