काठमाडौं । एक अर्काविरूद्ध लामो समय आरोप-प्रत्यारोपमा उत्रिएपछि अन्तत: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले एकै ठाउँमा बसेर छलफल गरेका छन् ।
उनीबीच शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पौने दुई घन्टा कुराकानी भएको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
भेटका लागि पाण्डे, प्रमेश हमाल, घनश्याम भूसालले सहजीकरण गरेका थिए ।
पछिल्लो समय जेजति कुरा बाहिर आए, त्यसले वातावरण बिगार्ने देखेर दुई नेताबीच आफूहरुले संवाद गराएकाे पाण्डेले बताए । एक अर्काविरूद्ध बाहिर नबोल्ने समझदारी भएको उनले बताए ।
सम्मानित नेता खनालले आफूले छलफलमा धेरै कुरा राख्न नपाएको गुनासो गरेका छन् । खासगरी आफूले राख्दै आएको विषयमा जहाँ पनि छलफल गर्न तयार भन्दै पार्टीका समस्याहरु विधिसम्मत छलफल गरी हल खोज्नुपर्छ प्रस्ताव गरेकाे बताए ।
संगठन सञ्चालनमा यावत समस्या देखिएको र त्यसको विधिसम्मत हलका निम्ति अध्यक्षकै भूमिका हुनुपर्छ भनेर आफूले भनेको पनि उनले बताए ।
पार्टीमा देखिएका विभिन्न समस्याहरू हल गर्न आफू सकारात्मक रहेको जबाफ अध्यक्ष नेपालले दिएका थिए ।नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्नतर्फ लाग्नुपर्ने बताएका थिए ।
अध्यक्ष नेपालसँग भेटवार्तापछि निवास डल्लु फर्केका खनालले शनिबार नै नेता वामदेव गौतमसँग कुराकानी गरेका थिए ।


प्रतिक्रिया