अमेरिकामा घरमा खसेको उल्का पिण्ड पृथ्वीभन्दा पुरानो

अमेरिकामा घरमा खसेको उल्का पिण्ड पृथ्वीभन्दा पुरानो



जर्जिया । अमेरिकाको जर्जिया राज्यको एक घरमा खसेको उल्का पिण्ड वैज्ञानिकहरूले अध्ययन गर्दा यो पृथ्वीभन्दा पुरानो रहेको खुलासा गरेका छन् ।

यो वस्तु जुन २६ मा दिउँसोको समयमा जर्जियाको विभिन्न भागमा विस्फोट भएको नासाले पुष्टि गरेको हो ।

जर्जिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले म्याक्डोनफ सहरको एउटा घरको छानो छेडेर प्रवेश गरेको उक्त उल्का पिण्डको टुक्रा परीक्षण गरेका थिए ।

परीक्षणका आधारमा उनीहरूले यो उल्का पिण्डको आयु करिब ४.५६ अर्ब वर्ष भएको अनुमान गरेका छन्, जुन पृथ्वीको उमेरभन्दा करिब २ करोड वर्ष पुरानो हो ।

घटना हुँदा जर्जिया र छिमेकी राज्यका सयौँ मानिसहरूले आकाशमा देखिएको आगोको गोलो र ठुलो विस्फोटको आवाज सुनेको बताएका थिए । तीव्र गतिमा यात्रा गरिरहेको उक्त उल्का पिण्ड पृथ्वीमा प्रवेशपछि सानो आकारमा घटे पनि अझै कम्तीमा प्रति सेकेन्ड १ किलोमिटरको गतिमा हेन्री काउन्टीको एक घरको छानो छेडेर भित्र पसेको थियो ।

घरमा खसेका टुक्राहरू वैज्ञानिकहरूलाई हस्तान्तरण गरेपछि सूक्ष्म परीक्षणमा यो उल्का पिण्ड कन्ड्राइट प्रकारको भएको पुष्टि भयो — जुन नासाका अनुसार सबैभन्दा धेरै पाइने पत्थरी उल्का पिण्डको प्रकार हो ।

घरका मालिकका अनुसार घटना भएको लामो समय बितिसक्दा पनि उनी आफ्नो घर वरिपरि अन्तरिक्षको धुलो भेटिरहेका छन् । ‘म्याक्डोनफ उल्का पिण्ड’ नाम दिइएको यो वस्तु जर्जियामा अहिलेसम्म फेला परेको २७औँ उल्का पिण्ड हो ।

जर्जिया विश्वविद्यालयका भूवैज्ञानिक स्कट ह्यारिसका अनुसार, ‘यो प्रकारको उल्का पिण्ड दशकौँमा एकपटक मात्र देखिन्थ्यो, तर पछिल्ला २० वर्षमै धेरै पटक देखिन थालेको छ ।’