नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबिच भेटवार्ता

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबिच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । श्रेष्ठ र यादवको भेटवार्ता आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भएको हो ।

पूर्व उपप्रधानमन्त्रीद्वयको उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको बुझिएको छ ।

‘संघर्षशील शक्तिहरुले यथास्थितिमा आफूलाई नराखेर देशको अहिलेको परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिन नयाँ पहलकदमी लिनुपर्ने आवश्यकताका बारेमा नयाँ सिराबाट अगाडि बढ्ने बारेमा छलफल भयो,’ श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सबैले आ–आफ्ना कमजोरीका निम्ति आत्मालोचना गर्दै अहिलेको सन्दर्भमा एकताबद्ध भूमिकाको दिशामा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेबारे पनि भेटमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

यसअघि श्रेष्ठले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र वरिष्ठ नेता झलनाथ खनालले पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।