जबज स्कुल चलाएर वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी तयार गर्छौँं : ज्ञवाली

जबज स्कुल चलाएर वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी तयार गर्छौँं : ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन-आश्रित स्मृति प्रतिष्ठान अध्यक्ष पदको शपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष ज्ञवालीले सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष शपथ लिएका हुन् ।

पार्टी कार्यालय आयोजित कार्यक्रममा अध्यक्ष ज्ञवालीसहित उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहालले पनि शपथ लिए । शपथ लिएपछि प्रतिष्ठानले मदन-आश्रितको योगदानलाई समाजमा स्थापित गर्नको लागि ३१ वर्षदेखि काम गर्दै आइरहेको बताए ।

उनले भने, ‘उहाँहरूको विचारलाई स्थापित गर्ने अनेकौँ बाटाहरू छन्, त्यसबारेमा प्रतिष्ठानले ३१ वर्षदेखि काम गर्दै आइरहेको छ । हामी आजै बैठक बसेर प्रतिष्ठानलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्नेछौँ ।’

उनले प्रतिष्ठान चार वटा काममा केन्द्रित हुने बताए । उनले थपे, ‘वैचारिक कामलाई अगाडि बढाउने सिलसिलामा एमालेको केन्द्रीय स्कुल विभाग र मदन आश्रित प्रतिष्ठानको विषयमा समझदारी भएको छ । त्यहाँको एउटा भवनलाई पार्टीले जबज स्कुल चलाउने गरी पुनर्निर्माण भएको छ । विधान महाधिवेशन लगत्तै हामीले नियमित रूपमा स्कुल सञ्चालन गर्छाैं । वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी, नेता कार्यकर्ताहरू तयार गर्ने हिसाबले प्रयोग हुन्छ ।’

अध्यक्ष ओलीले पदाधिकारीहरूको शपथका लागि प्रयोग भएका व्यहोरा सच्याउन निर्देशन दिए ।

उनले भने, ‘प्रदीप ज्ञवालीलाई मैले पनि प्रदीप गुरु भन्ने गर्छु, उहाँले प्रतिष्ठानको सही नेतृत्व गर्नुहुन्छ भन्नेमा शंका छैन । शपथको व्यहोरोमा सीमित गरिदिएको छ, म अध्यक्षको पदमा रहेसम्म इमानदार हुन्छु, म सदस्यको पदमा रहेसम्म इमानदार हुन्छु भन्ने छ । त्यो कुरा साँचो होइन, पदमा रहँदा होस् वा नरहँदा इमानदार हुनुपर्छ ।’

उनले प्रतिष्ठानको सदस्य एक पटक भएपछि विपक्षमा कसैले काम गर्न नमिल्ने तर्क गरे ।

उनले थपे, ‘तपाईँहरू नै कुनै दिन आफैँ पदमा रहनुभएन वा कसैलाई हटाउनुभयो भने मदन भण्डारी र जीवराज आश्रितप्रतिको सम्मान, निष्ठा उद्देश्यहरू क्यारी गर्नुपर्ने भन्दैन शपथको ब्यहोराले, त्रुटिपूर्ण छ सच्याउनुहोला । सदस्यमा रहेसम्म यो प्रतिष्ठानको विपक्षमा हुने गरी कुनै कार्य गरिनेछैन भनिएको छ, तर एक पटक प्रतिष्ठानको सदस्य भएपछि पछि पनि विपक्षमा काम गर्न मिल्दैन । सदस्य रहेसम्म भन्ने कुरा हटाउनू ।’