रूपन्देही । रूपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ ।
न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको हाे । आज नै आदेश आउन सक्ने बताइएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रूपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । त्यसपछि लामिछाने धरौटी आदेशविरुद्ध ७३ वटा निवेदनसहित उच्च अदालत पुगेका थिए । गत वर्ष चैत २२ गते उच्च अदालतको आदेशपछि उनी मुद्दाको पुर्पक्षका लागि थुनामा गएका हुन् ।
उनले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनः ७३ नम्बरको निवेदन दिएका थिए । सर्वोच्च अदालतले पनि उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।
अहिले लामिछानेले जिल्ला अदालतमै सहकारी ऐनको दफा १३१ (क) बमोजिम बिगो तिरेर साधारण तारेखमा रिहाइको माग गर्दै निवेदन दिएका हुन् । लामिछानेले आफ्नो भागको बिगोबापत दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेको निवेदनमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया