काठमाडौँ । अष्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० क्रिकेट सिरिज नेपालका दर्शकले कान्तिपुरमा प्रत्यक्ष हेर्न सक्ने भएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी र एडी रिलिजका निर्देशक आर.सी. रेग्मीबीच प्रसारण अधिकारसम्बन्धी सम्झौता भएको हो।
सम्झौता अनुसार सिरिजका सबै खेल कान्तिपुर म्याक्समा प्रसारित हुनेछन् । एडी रिलिजले प्रतियोगिताको सम्पूर्ण विज्ञापन अधिकार पाएको छ। अन्तर्राष्ट्रिय स्तरमा अष्ट्रेलियामा ‘द होम अफ क्रिकेट’ भनेर चिनिने र बिग ब्यास तथा एशेज सिरिजको आधिकारिक प्रसारक सेभेन प्लस स्पोर्टले सेमिफाइनल र फाइनलसहित १३ प्रमुख खेल प्रत्यक्ष देखाउनेछ।
साथै, क्रिकेट अष्ट्रेलियाको युट्युब च्यानलमार्फत बाँकी विश्वका दर्शकले खेल हेर्न सक्नेछन्। विभिन्न मुलुकका दर्शकका लागि फ्यानकोड (भारत र बंगलादेश), कान्तिपुर म्याक्स (नेपाल), टी स्पोर्ट्स (बंगलादेश), ए स्पोर्ट्स र एआरवाई ज्याप (पाकिस्तान), विलो टिभी (अमेरिका र क्यानडा), स्टिक्स स्पोर्ट्स (श्रीलंका), अनबिटन ।
यस सिरिजमा नेपाल, पाकिस्तान शाहीन्स (‘ए’ टिम) र बंगलादेश ‘ए’ टिम सहभागी हुनेछन्। पाकिस्तान ‘ए’ टिम यसअघि २०२३ र २०२४ मा पनि यो प्रतियोगितामा खेलिसकेको हो भने बंगलादेश ‘ए’ टिमले २०२४ को फाइनलमा एडेलेड स्ट्राइकर्स एकेडेमीसँग हार बेहोरेको थियो।
नेपालले यो प्रतियोगितालाई आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीका रूपमा लिएको छ। लिग चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेलिनेछ र त्यसपछि फाइनल हुनेछ। नेपाल फाइनलसम्म पुग्दा कुल आठ खेल खेल्नेछ।


प्रतिक्रिया