राप्रपा युवा संगठनको काठमाडौं अधिवेशनमा हात हालाहाल

राप्रपा युवा संगठनको काठमाडौं अधिवेशनमा हात हालाहाल



काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद भएपछि हात हालाहाल भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन गरिएको छ ।

केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको हो । त्यसपछि माइकिङ गर्दै औपचारिक कार्यक्रम सुरु नभइसकेकाले धैर्यपूर्वक बस्न आह्वान गरिएको थियो ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच हात हालाहाल भएको हो ।

विवादले उग्ररूप लिने देखिएपछि लिङदेन भेला स्थगित भएको घोषणा गर्दै बाहिरिएका थिए । “तपाईं पार्टीको भविष्य हो, कसैको हतियार नबन्नुस्, गुन्डागर्दी नगर्नुस्,” लिङदेनले भनेका थिए ।

युवाहरूले अध्यक्षबाहेक सबैलाई मञ्चबाट हटाउन बल प्रयोग गर्न खोजेपछि प्रहरीले घेरा हालेर मञ्चको सुरक्षा गरेको थियो ।

अध्यक्ष लिङदेनले अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिएपछि लगत्तै नाराबाजीमा उत्रिएको ज्योति लामा समूहले नयाँ कार्यसमिति घोषणा गरेको छ ।