संसद्लाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो नबनाऔं : प्रधानमन्त्री

संसद्लाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो नबनाऔं : प्रधानमन्त्री

तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले देश र जनताको हितमा रहेर काम गर्नुपर्ने बताए । “देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको छ,” उनले भने ।

समाजलाई उत्तेजनामा ल्याउने नियत राखेर बोल्ने गरेको उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले राजनीति र नीतिमा देखिएको अस्थिरतालाई अन्त्य गर्नको लागि अहिलेको सरकार बनेको बताए ।

उनले भने, ‘सरकारले गरेको सकारात्मक काममाथि प्रश्न उठोस् भन्ने चाहन्थे । तर, संसद् होस् वा सार्वजनिक बहसलाई अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको छ । यस्ता बहसले देशमा केही गरौँ भन्नेको लागि होइन, युवाहरूलाई भरोसा प्रदान गर्न पनि होइन । उनीहरूलाई गाली, निन्दा, आरोपमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत राखेको छ ।’

तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

प्रधानमन्त्री ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराए । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली साउन २३ गते फर्किएका थिए ।

साउन १८ गते मध्यराति त्यसतर्फ गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका भेटघाट र कार्यक्रमबारे संसद्लाई जानकारी गराएका हुन् ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए ।