काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा र आतंकबाट पार्टी कब्जा गर्ने प्रयास जारी राखेका छन् । हिंसाको बलमा २०५१ सालमा कलबलगुडी, झापामा लिङ्देनले जसरी विधार्थी संगठनको नेतृत्व हत्याएका थिए त्यही मोडललाई उनले हाल गुरुमन्त्र मानेको देखिन्छ ।
सन्दर्भ बुधबारलाई तय भएको राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनको हो । पार्टी स्रोतका अनुसार, लिङ्देनले युवा अधिवेशनलाई राप्रपाको महाधिवेशन हत्याउने ‘पाइलट प्रोजेक्ट’ बनाएका थिए । यहाँ सफल भएको भए, यही शैली अपनाएर देशभरीका कार्यकर्तालाई आतंकित बनाउँदै महाधिवेशन जित्ने उनको मकसद थियो, जो पूर्ण रुपमा असफल भएको छ ।
लिङ्देनले पार्टीभित्र फरक मत राख्ने विपक्षी निमिट्यान्न पार्ने नीति लिएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि कटिवद्ध नेताहरु त उनी हेर्नै सक्दैनन्, डा धवलशम्सेर राणा, सगुन सुन्दर लावती, मुकुन्द श्याम गिरी, धनसुर शाहीमाथि त्यसैकारण कारवाहीको डण्डा चलाएका छन् । वरिष्ठ नेता नवराज सुवेदीलाई समेत उनले छाडेनन् ।
‘खबरदार १ कि त अनुशासनको कारवाही गर्छु नत्र भौतिक आक्रमण गर्छु,’ भन्ने सन्देश उनले दिँदै आएका छन् । दायाँतर्फ पार्टीका युवा नेता राजु गैरे कुट्ने विवादस्पद छत्र खडायत, बायाँतर्फ पार्टी बाहिरका बडीबिल्डर राखेर युवा अधिवेशनलाई सम्बोधन गर्नुमा लिङ्देनको यही मनसाय थियो ।
कलबलगुडीमा गोपाल दाहालाई हराएर विधार्थी अध्यक्ष जित्दा उनले खुकुरी, भाला, तरवारले विपक्षी काट्ने जस्ता सबै हतकण्डा अपनाएका थिए जसको झझल्को बुधबार उनले दिन खोजे । इतर पक्षका युवाहरु सजग नभएको भए युवा अधिवेशनमा ठूलै क्षति हुनसक्ने अनुमान राप्रपाभित्र छ ।
कार्यकर्ता कुट्ने लिङ्देनका नीजि सचिव खडायत र युवा अध्यक्ष सुजित केसीले इतर पक्षका युवाहरुलाई कार्यक्रम सुरु नहुँदै मंचबाट धकेलेर हुत्याइदिएका थिए । प्रहरी बीचमा नआएको भए लिङ्देन पक्ष कार्यकर्तामाथि जाइलाग्ने निश्चित नै थियो ।
रिद्दी प्रतापमाथि आक्रमण
सजगताका बाबजुद युवा संगठनका निवर्तमान काठमाडौं जिल्ला अध्यक्ष रिद्दी प्रताप राणामाथि लिङ्देनका आयातित युवाहरुले अधिवेशनमा आक्रमण गरे ।
हेल्मेटले आक्रमण गरेपछि युवा नेता राणाको टाउकोमा चोट लागेको छ । राप्रपाका सहायक प्रवक्ता प्रवीण थोकरका अनुसार, राणा हाल ह्याम्स अस्पतालमा २४ घण्टे निगरानीमा छन् । उनले सीटी स्क्यान लगायतका स्वास्थ्य परिक्षण गराएका छन् भने रिंगटा लाग्ने लक्षण जारी छ ।
एक्लो लिङ्देन
राप्रपाका एक जना नेता पनि लिङ्देनका साथमा मंचमा देखिएनन् । पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशम्सेर राणाले अघोषित बहिष्कार गरे । लिङ्देनको स्वेच्छाचारिताविरुद्ध वरिष्ठ नेताहरुको प्रतिकात्मक विरोध थियो त्यो । विधान मिच्ने, हिंसा गर्ने लिङ्देनको गलत कार्यशैलीकै कारण विक्रम पाण्डे, डा। धवलशम्सेर राणा, बुद्धिमान तामाङ, ध्रुव प्रधान लगायत एक जना केन्द्रीय नेता पनि कार्यक्रममा सरिक भएनन् ।
लिङ्देन, पार्टी अध्यक्ष कि युवा अध्यक्ष ?
लिङ्देन राप्रपा अध्यक्षको नाताले प्रमुख अतिथिको हैसियतमा युवा अधिवेशनमा उपस्थित थिए । अधिवेशनको ‘पाइलट प्रोजेक्ट’ कब्जा गर्न मग्न लिङ्देनले आफू युवा अध्यक्ष नभएर अतिथि मात्र भएको यथार्थ बिर्सिए ।
युवाहरुले विधिवत माग राख्दा चोरको खुट्टा काट् भनेजस्तो एक्कासी बाहुबलको कुरा गरे, अधिवेशन स्थगन गरे अनि कार्यक्रमस्थल छोडेर भागे । ‘पार्टी अध्यक्षले नांगो हस्तक्षेप गरेर भातृ संगठनको अधिवेशन कसरी स्थगन गर्न सक्या होला ? यस्तो विश्व किर्तिमान राख्ने बुद्धि कहाँबाट आउँछ ? हामी त तीनछक भयौं । लाजै लाग्यो,’ अधिवेशन प्रतिनिधि गणेश लामाले भने ।


प्रतिक्रिया