काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने दौडमा नरहेको बताएका छन् ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गदै उनले समिति सभापति रामहरि खतिवडाले राजीनामा दिँदा राम्रो सन्देश गएको पनि दाबी गरे ।
उनले भने, ‘मलाई सभापति बन्नु थियो भने त रामहरि खतिवडा बनेपछि पालो पुर्याउन मात्रै बन्दिनँ थिए होला नि, पहिल्यै बन्थे । मन्त्री बन्न लाग्थे होला नि । कसैले गलत लेखेर प्रचार गरिदिनुभयो । छलफल गर्दै गर्दा रामहरिजीले छाड्नुपर्छ भनेकै हो । उहाँले राजीनामा दिँदा राम्रो सन्देश गएको पनि छ ।’
उनले समितिको सभापति समितिमै रहेका सदस्यहरूबाट हुने र चाँडै पार्टीले टुङ्ग्याउने बताए ।
पार्टी सरकारमा छ भन्दैमा नराम्रो कुराको विरोध गर्न नछाड्ने भन्दै उनले सरकार बाहिर हुँदा पनि राम्रो कामको कांग्रेसले समर्थन गर्ने गरेको जिकिर गरे ।
उनले भने, ‘हामी सरकारमा नरहँदा पनि राम्रा कुराको समर्थन गर्छौँ। सरकारमा रहँदा पनि कमजोरीका बारेमा हामी प्रहार गर्छौँ। संसदमा बोल्दै गर्दा होस् वा बाहिर बोल्दा पनि । अहिले हामी सरकारमा छौँ। सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुनुपर्छ भन्नेसँग हाम्रो प्रस्ट विमति छ। संसदमा पनि बोलेका छौँ बाहिर पनि बोलेका छौँ ।’
उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर जाने कुनै पनि कुरालाई कांग्रेसले स्वीकार नगर्ने बताए । फोन ट्यापिङसम्बन्धी पनि विधेयक ल्याउँदा पनि दुरुपयोग हुने भएकाले सरकार गम्भीर हुनुपर्ने बताए । उनले आफूले सदनमा ३८ मिनेट बोल्दा २५ वटा विषयमाथि प्रश्न उठाएको भएपनि रास्वपामाथि केन्द्रीय भएको भन्दै प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए ।


प्रतिक्रिया