काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशभर मलकाे हाहाकार भए पनि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले समस्या नबुझेकाे बताएका छन् ।
बिहिबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले मलकाे समस्या नबुझ्ने खाले कृषिमन्त्री नियुक्त गर्ने परम्पराकाे विकास भएकाे भन्दै कृषिमन्त्री अधिकारीलाई कटाक्ष गरे ।
उनले भने, ‘देशभर मलकाे हाहाकार छ । हामीले कहिल्यै मलकाे समस्या नबुझ्ने खालका कृषिमन्त्रीहरु नियुक्ती गर्ने परम्पराकाे विकास भा’काे छ । जनता पिडित छन् । लम्किस्किन राेगले त्यस्तै देशभरी सताकाे छ । धेरै बस्तुभाउ मरिरहेका छन् । प्रत्येक जिल्लामा डाक्टर पठाएर उपचार गर्ने व्यवस्था हाेस् भनेर अनुराेध गर्न चाहान्छु ।’
त्यसैगरी सांसद खतिवडाले मध्यपहाडी राजमार्गमा पर्ने साेखु खाेला र भन्डारे खाेलामा पुल निर्माण छिटाे गर्न आग्रह गरे । उनले ओखलढुंगाकाे पहिरे खाेलामा बेलिब्रिज निर्माण कार्यमा ढिलाइ भएकाेमा पनि चिन्ता व्यक्त गरे ।
उनले भने, ‘मध्यपहाडी राजमार्गकाे साेखुखाेलामा पुल निर्माण नभएर समस्या भएकाे छ । छिटाे भन्दा छिटाे साेखु खाेला र भन्डारे खाेलामा पुल निर्माण गर्ने व्यवस्था हाेस् । संघबाट ओखलढुंगाकाे चर्चित पहिरे खाेलाकाे बेलिब्रिज निर्माणका लागि प्रदेशमा पठाइयाे तर अहिलेसम्म बनेन । छिटाे भन्दा छिटाे त्याे बेलिब्रिज राख्ने व्यवस्था हाेस् । जनताले अस्पताल जान नपाउने र स्कुल जान नपाउने अवस्था सिर्जना भएकाे छ । पहिरे खाेलामा छिटाे बेलिब्रिज निर्माण हाेस् भनेर अनुराेध गर्न चाहन्छु ।’


प्रतिक्रिया