धुलिखेल । वन्दन भगवती निर्माण सेवा प्रालिले काभ्रेको पाँचखालमा स्थापना गर्न लागेको अम्मान कम्पनीको विश्वस्तरीय असफाल्ट ब्याच मिक्स प्लान्ट पूर्ण वातावरणमैत्री रहेको दाबी गरिएको छ । कम्पनीले धुलिखेलमा पत्रकार सम्मेलन गरी असफाल्ट ब्याच मिक्स प्लान्ट पूर्ण वातावरणमैत्री रहेको दाबी गरेको हो । पत्रकार सम्मेलनमा भिडियो सन्देशमार्फत् विभिन्न प्राविधिक पक्षहरू देखाइ अम्मान कम्पनीको असफाल्ट ब्याच मिक्स प्लान्ट पूर्णरुपमा वातावरणमैत्री भएको प्रष्ट पारिएको थियो ।
यसअघि नै मुलुकका विभिन्न भागमा त्यस्ता प्लान्ट स्थापना भइसकेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । कम्पनीका प्रबन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ ले सूचना प्रविधिमा आएको सहजताका कारण आजका दिनमा जो कोहीले निर्माण उद्योगमा प्रयोग हुने उपकरणका विषयमा तत्काल सबै जानकारी पाउन सक्ने अवस्था रहेको बताए । पाँचखालमा स्थापना गर्न लागिएको प्लान्टका विषयमा फैलाइएको भ्रमबाट स्थानीय वासिन्दा, सचेत युवावर्ग, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि सहित संघीय सांसदहरू र सञ्चारजगत समेत ग्रस्त हु्नु बिडम्बनाको भएको पन्तको भनाइ थियो ।
राष्ट्रिय प्रतिष्ठाको विषय बनेको सूर्यविनायक—साँगा—धुलिखेल तथा निकट भविष्यमा निर्माण हुने धुलिखेल—खावा सडकसहित पाँचखाल नगरपालिकाभित्र रहेका विभिन्न सडकमा असफाल्ट पिच गर्ने उद्देश्यले उक्त प्लान्ट स्थापना गर्न लागिएको पन्तले प्रष्ट पारे । अम्मान कम्पनी निर्माण उद्योगका लागि अत्यावश्यक असफाल्ट ब्याच मिक्स प्लान्ट उत्पादनका लागि संसारभर ख्याति कमाएको र आजभन्दा १ सय ५० वर्ष अघि नै स्थापित सो कम्पनी यूरोपेली मापदण्डको स्वीस प्रविधिमा आधारित विश्वप्रसिद्ध कम्पनी रहेको प्रबन्ध निर्देशक पन्तले स्पष्ट पारे ।
‘समय सापेक्ष रुपमा आफूलाई प्रविधि तथा पूर्ण वातावरणमैत्री बनाउँदै आएकाले यो कम्पनी गुणस्तरीय निर्माण कार्यमा प्रतिबद्ध विश्वभरका कम्पनीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ’ पत्रकार सम्मेलनमा पन्तले भने । अम्मान कम्पनीले निर्माण कार्यसँग सम्बन्धित २ सय ८० भन्दा बढी निर्माण यन्त्र तथा उपकरणहरू उत्पादन गर्दै आएको र विश्वका एक सय भन्दा बढी मुलुकमा यो कम्पनीको प्लान्टहरू स्थापना भई संचालनमा आइरहेको पत्रकार सम्मेलनमा बताइयो ।

गुणस्तरीय तथा पूर्ण वातावरणमैत्री भएकाले नै विश्वभर स्थापित दुई सय भन्दा बढी डिलर तथा पार्टनरले यस कम्पनीसँग सहकार्य गर्दै आएको सो अवसरमा जानकारी दिइयो । भुक्तानी अभाव, अव्यवहारिक ऐन, नियम लगायतका कारणले निर्माण उद्योग अत्यन्त समस्याग्रस्त भई समग्र आर्थिक स्थिति नै नाजुक भएको वर्तमान परिप्रेक्ष्यमा निर्माण कार्यमा अहोरात्र खटिँदै आएको कम्पनीहरूको मनोबल गिर्ने गरी विना ठोस प्रमाण तथा आधार कोही कसैको उक्साहटमा अभिव्यक्ति नदिन कम्पनीले आग्रह गरेको छ ।
निर्माण परियोजना समयमै सम्पन्न भएमा त्यसबाट सबैभन्दा लाभान्वित हुने स्थानीय समुदाय नै भएकाले स्थानीयहरूको यस्तो हक नै कटौती हुने गरी निर्माण कार्यमा अवरोध सिर्जना गर्ने खालका हल्का अभिव्यक्तिहरू नदिन कम्पनीले सरोकारवाला सबैमा अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले विकास निर्माणको सवालमा सम्बन्धित सबै पक्षहरू सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए ।




प्रतिक्रिया