ताप्लेजुङ गोल्डकपः सलहेस क्लब फाइनल प्रवेश

ताप्लेजुङ गोल्डकपः सलहेस क्लब फाइनल प्रवेश


ग्लोब नेपाल
0
Shares

ताप्लेजुङ। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युवा क्लब अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। झापाको रेड स्टार फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सलहेस युवा क्लब फाइनलमा पुगेको हो।

सलहेशको जितका लागि विदेशी मुलका खेलाडी युसुफ मलिकले खेल सुरु भएको १३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै खेलको मध्यान्तरपछिको ४८ औं मिनेटमा मलिकले नै अर्को गोल थपे। खेल अवधिभर गोल फर्काउने अधिक प्रयास गरे रेड स्टार झापा सफल बन्न सकेन। रेड स्टारले सेमिफाइनमा हार बेहोरेसँगै फाइनलमा पुग्न नपाई प्रतियोगिताबाट बाहिरिनुपरेको छ।

यता सेमिफाइनल खेल जितेसँगै सलहेसले चर्च ब्वाइज क्लब ललितपुरसँगको फाइनल भिडन्त पक्का गरेको छ। चर्च ब्वाइज भने बुधबार भएको पहिलो सेमिफाइनलमा सुनसरीको द योङ ब्रदर्स क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। सेमिफाइनलमा चर्च ब्वाइज र द योङ ब्रदर्स क्लबले निर्धारित समयावधिमा बराबरी एक–एक गोल गरेका थिए। अब प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।