वाणिज्य बैङ्कहरूको नाफा ४३ प्रतिशतले बढ्यो

वाणिज्य बैङ्कहरूको नाफा ४३ प्रतिशतले बढ्यो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा ७१ अर्ब ५१ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अघिल्लो वर्षको तुलनामा ४३ दशमलब ३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ९२ लाख ९१ हजार रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो वर्ष बैंकहरूको कुल नाफा ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार रुपैयाँ मात्र थियो । गत वर्ष ४ बैंकबाहेक सबै बैंकको नाफा बढेको देखिएको छ । नबिल बैंकले सबैभन्दा बढी ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो तुलनामा १५ दशमलब ०१ प्रतिशतले बढी हो । दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६४ दशमलब ४३ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । कुमारी बैंक र नेपाल बैंकको नाफा हजारौं प्रतिशतले, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको नाफा नौ सय प्रतिशतसम्म बढेको छ ।

बैंकहरूले आर्थिक वर्ष २०८०/०८१ को विवरणमा अन्तिम लेखा परीक्षण पछिको परिष्कृत वित्तीय विवरण अनुसारको तथ्यांक देखाएकाले पनि नाफामा उछाल देखिएको हो । राष्ट्र बैंकले दुई करोड रूपैयाँ सम्मको कर्जाको भाका सार्न दिएको र बैंकहरूले गैर बैंकिङ सम्पत्ति बिक्री गर्न सकेको कारण नाफा बढ्न गएको बताइएको छ ।

त्यस्तै, निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाएको र अर्थतन्त्र समेत अघिल्ला वर्षहरूमा भन्दा केही चलायमान भएकाले पनि असुलीमा सुधार भएको अर्थविदले बताएका छन् ।