नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

तीन जना बने पोलिटब्युरो सदस्य, ९ जना केन्द्रीय सदस्य



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सातौँ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सचिवाल वैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयता तोकिएको हो । पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन् ।

राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिइएको ज्वालाले जानकारी दिए ।

एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा मिसिएका डिबी कार्कीलाई पोलिटब्युरो सदस्य बनाइएको छ ।

त्यस्तै, वामदेव पत्नी तुलसी थापा र लोकनाथ धमला पनि पोलिटब्युरो सदस्य बनेका छन् ।

भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भण्डारी, रविन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, मोहम्दशेर बागवान केन्द्रीय सदस्य बनेका छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठक अहिले पनि बसिरहेको छ ।