अब कृष्ण जन्मंदैनन्, जन्मेकैहरू बन्नुपर्छ: रवि लामिछाने

अब कृष्ण जन्मंदैनन्, जन्मेकैहरू बन्नुपर्छ: रवि लामिछाने


ग्लोब नेपाल
216
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब कृष्ण नजन्मने र जन्मेकैबाट कृष्ण बन्नुपर्ने बताएका छन् । पार्टीका प्रवक्ता मनिषा झाका अनुसार भैरहवा जेलमा बस्ने कोठाको भित्तामा रविले यस्ताे लेखेर आएको जानकारी पार्टीका नेताहरूलाई गराएका छन् । रविलाई भैरहवा जेलबाट ललितपुरको नक्खु जेलमा आज सरुवा गरिएको छ ।

भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषयको जानकारी गराएका थिए । वाग्ले र झा कारागारमै भेट्नका लागि पुगेको भए पनि भेट्न नपाएको पनि उनले बताएका छन् ।

कारागारमा भेट्न नपाएपछि गौतमबुद्ध विमानस्थलमा केहीबेर रविसँग भेट भएको र सो क्रममा उनले यसबारे जानकारी गराएको प्रवक्ता झाले बताएका छन् । ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’

रविले राजनीतिक प्रतिशोधको मंगलग्रह नै लागे पनि आफू नडराउने बताएको पनि झाले बताए । ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले रविको भनाइ उद्धृत गर्दै भने, ‘जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’

लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा हुन लागेका हुन् । लामिछानेलाई भैरहवाबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइएको छ ।