काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तासाझेदार दल नेकपा (एमाले)माथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’ भनेर टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले हाल भूमिसम्बन्धी विधेयकमा कांग्रेस सांसदले संशोधन राख्दा त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाए । खाली जग्गामा एमालेको आँखा गइहाल्ने उनले कटाक्ष गरे ।
गोकर्ण रिसोर्ट, तत्कालीन राजा वीरेन्द्रको सम्पत्ति, पोखराको लिचीबारी, गिरीबन्धु टी–इस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको उनले बताए । ‘सांसदले नै बिचौलियाको काम गरेपछि देश कता पुग्छ ?’ भन्दै उनले प्रश्न गरे ।
उनले भने, “अहिले भूमिसम्बन्धी विधेयक छ । एमाले त जहाँ खाली जग्गा देख्छ त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । जहाँ पनि तपाईं हेर्नुस् । यो गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेका आँखाहरू हेर्नुस् । लिचीबारी पोखराको हेर्नुस्, गिरीबन्धु टी–इस्टेट हेर्नुस् । जताततै एमालेको मात्रै सुनिन्छ । संघीय मामिलामन्त्रीले त राजीनामा दिनुभयो । तर, भूमिसुधारमन्त्री अहिले पनि जबरजस्ती बसिरहनुभएको छ । जबकि, कास्की जिल्लाको एमाले कमिटीले पूरैले भूमिसुधारमन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ । बिचौलिया एकजना हुनुहुँदो रहेछ, रेशम चौधरीजीको पार्टीको । सांसद पनि बिचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको ?”
नेता कोइरालाले संघीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी गर्ने कार्य नेकपा (एमाले)बाट नै भएको आरोप समेत लगाएका छन् ।
उनले राष्ट्रियसभामा एमालेका सांसदले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन प्रस्ताव राखेको बताए । एमाले छलकपट गर्ने राजनीतिक दल भएको उनको आरोप छ ।
“यसमा लुकेको केही छैन । अहिलेसम्म हामीले लुकायौँ, अब लुकाउनुपर्ने आवश्यकता छैन । किन छैन भने, राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनीकन उहाँहरूले संशोधन प्रस्ताव हालिसकेपछि किन त्यस्तो संशोधन हालेको भनेर पत्रकारले सोध्दा हामीलाई माथिको निर्देशन छ भने,” उनले भने, “एमाले त छलकपट गर्दो रहेछ । त्यसमा पनि दुई मत छैन ।”


प्रतिक्रिया