होटलमा पत्नीको हत्या गरी फरार युवक पर्साबाट पक्राउ

होटलमा पत्नीको हत्या गरी फरार युवक पर्साबाट पक्राउ



काठमाडौं। राजधानीको गोंगबुस्थित एक गेष्टहाउसमा पत्नीको हत्या गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका घर भएका करिब ३० वर्षीय सन्तोष सेन्चुरी छन्। उनलाई पर्साबाट नियन्त्रणमा लिइएको हो।

गत शुक्रबार गोंगबुस्थित कञ्चन कोसी होटल एण्ड लजको कोठा नम्बर २०१ मा २७ वर्षीया ललिता विक मृत अवस्थामा फेला परेकी थिइन्। उनको शव खाटमुनि लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

अनुसन्धान अनुसार ललिता र सन्तोषबीच करिब दुई वर्षअघि विवाह भएको थियो। मृतकका आफन्तका अनुसार साउन २७ गते सन्तोषले ललितालाई उक्त होटलमा बोलाएका थिए र त्यहीँ उनको हत्या भएको देखिन्छ।

घटना लुकाउन सन्तोषले भोलिपल्ट अर्थात् साउन २८ गते प्रहरी वृत्त महाराजगन्जमा पत्नी हराएको भन्दै निवेदन पनि दिएका थिए।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।