काठमाडौं । कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिएकी छन । मृत भेटिनेमा कैलालीको घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । आमाछोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा फेला परेको उनले जानकारी दिएका छन ।
डगौरा छोरीसहित २९ साउनदेखि बेपत्ता थिइन् । खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो । उनी खोजीको क्रममा मृत भेटिएकी हुन् उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया