काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको बताएका छन् । प्रेस चौतारी ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताएका हुन् ।
भट्टराईले देशको आवश्यताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही गठबन्धनको सरकार रहने जिकिर गरे ।
‘देशमा विषम परिस्थिति सृजना भएकोले गत वर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको हो । सरकारले देशको आर्थिक स्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ । कतिपय कानून संशोधन गरेको छ । विकासका कामलाई तीव्रता दिएको छ । ’
भट्टराईले संविधान संशोधनको समयमा स्थानीय तहको संख्या घटाएर वडाको संख्या बढाउनु पर्ने औंल्याए । त्यस्तै उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका संख्या पनि घटाउनु पर्ने उनले बताए ।
उनले थपे, ‘हाम्रो नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आह्वान गरेको छ । थुप्रै आर्थिक ऐन संशोधन भएका छन् । केही नयाँ बनाइएको छ ।’


प्रतिक्रिया