नागरिक उन्मुक्ति पार्टीले रूपन्देही-३ उप-चुनावमा भाग लिन नपाउने

नागरिक उन्मुक्ति पार्टीले रूपन्देही-३ उप-चुनावमा भाग लिन नपाउने



बुटवल । रूपन्देही-३ उप-चुनावमा नागरिक उन्मुक्ति पार्टीले भाग लिन नपाउने भएको छ ।

उपनिर्वाचन २०८२ का लागि दल दर्ता नगराएको हुँदा नाउपाले चुनावमा भाग लिन नपाउने भएको निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन २७ राजनीतिक दलहरू आएको आयोगले जनाएको छ ।

आयोगले २७ वटा दल दर्ता हुन निवेदन आएकोमा २६ वटा मात्रै दर्ता हुन योग्य भएको बताएको छ । कानूनी रीत पूरा भएका पार्टीले मात्रै उप चुनावमा भाग लिन पाउने भएको हो ।

अयोग्य रहेको दलमा नागरिक उन्मुक्ति पार्टी रहेको आयोगमो भनाइ छ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसक्नुका ३ कारण दिएको छ ।

आयोगका अनुसार नाउपा चुनाव लड्न आयोग्य हुनुमा नयाँ कार्यसमितिले बैधानिकता नपाउनु र अध्यक्ष रञ्जिता श्रेष्ठले दल दर्ता हुन केन्द्रीय समितिको निर्णय र बार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्न नसक्नु रहेको छ ।

नाउपा संरक्षक रहेका रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अपदस्त गर्दै आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका थिए ।

लालवीरको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिलाई अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन समेत दिएका थिए । तर, आयोगले यसलाई बैधानिकता दिन अस्वीकार गरेर रञ्जिता नेतृत्वको कार्यसमितिले नै बैधानिकता पाउने निर्णय गरेको थियो ।

रूपन्देही-३ मा कार्तिक १७ गते उपचुनाव हुँदैछ ।