काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेका छन् । राजीनामा नदिए महाअभियोग लगाउने तयारी एमाले र कांग्रेसले गरेका छन् । त्यसका लागि एमालले संसदीय दलको बैठक बोलाएको छ भने कांग्रेसले पदाधिकारी बैठकमा छलफल चलाएको छ । पदाधिकारी बैठकपछि आफ्ना सांसदलाई संसदीय दलको कार्यालय सिंहदरबारमा जम्मा हुन निर्देशनसमेत कांग्रेसले दिएको छ ।
उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको आरोप दुई दलको छ । स्रोतका अनुसार उपसभामुखविरुद्धको प्रस्तावमा कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ । केही सांसदले भने हिजै हस्ताक्षर गरिसकेका छन् ।
हिजो सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको थियो । बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।


प्रतिक्रिया