दुई सातापछि खापुङ आईजीपी बन्ने

दुई सातापछि खापुङ आईजीपी बन्ने


ग्लोब नेपाल
2k
Shares

काठमाडौँ। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछिको नेतृत्वका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएका छन्।

भर्ना भएका टोलीमध्ये एक जना मात्रै आईजीपीसम्म पुग्ने परम्परा थियो । तर, २०५१ सालमा एकै लटमा भर्ना भएका ३ जना प्रहरी प्रमुख बनेर नयाँ इतिहास बन्दैछ । यसै लटबाट वसन्तबहादुर कुँवरले गत चैतमा अवकाश हुनुअघि आईजीपी बनेका थिए भने उनका वैकल्पिक दीपक थापा हाल अवकाशको डिलमा छन्। अब तेस्रो नाममा परेका चन्द्रकुबेर खापुङ पनि प्रहरी प्रमुख बन्ने पक्का देखिएको छ।

आईजीपी थापाकै ब्याचका एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ गते अवकाशमा जाने भएकाले खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धी बनेका छन्। अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि भदौ १५ गते अवकाश हुने भएकाले खापुङलाई प्रतिस्पर्धा गर्ने ब्याचमै कोही बाँकी छैन।

हाल संगठनमा खापुङसँगै एआईजी दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धिविक्रम शाह रहेका छन्। तर, उनीहरू खापुङभन्दा पछिल्लो ब्याचका हुन्। यस कारण वरिष्ठताक्रमअनुसार खापुङकै सम्भावना उच्च छ।

यदि खापुङ आईजीपी बने भने उनको कार्यकाल अढाई महिनाभन्दा लामो रहने छैन। उनी २०५२ कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश गरेका भएकाले ३० वर्षे सेवा अवधिले आगामी कात्तिक २६ गते उनी पनि अनिवार्य अवकाशमा जानेछन्। यसरी उनी प्रहरी इतिहासमै दोस्रो सबैभन्दा छोटो समयका लागि आईजीपी बन्ने सम्भावना छ।