भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई एमाले संस्थापनको उर्दी

भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई एमाले संस्थापनको उर्दी

पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री कार्की र मन्त्रीहरुले सुटुक्क भेटे



विराटनगर । नेकपा एमालेको संस्थापन पक्षले पूर्वराष्ट्रपति विद्या भण्डारीको कार्यक्रममा नजान पार्टी पंक्तिलाई निर्देशन दिएको छ । हिजोदेखि मोरङमा रहेर पार्टीका कार्यकर्ता भेटिरहेकी भण्डारीको कार्यक्रममा नजान एमालेको विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले उर्दी जारी गरेका हुन् ।

उनले भनेका छन्, ‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे नेकपा (एमाले) जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ ।’

नेकपा (एमाले) को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण नगरिएको उनले सर्कुलरमा उल्लेख गरेका छन् ।

बस्नेतले थपेका छन्, ‘जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । तसर्थ, सो झूटो प्रचारप्रसारप्रति नझुक्किनुहुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’

यसअघि पूर्वमुख्यमन्त्री एवं कोशीका इञ्चार्ज शेरधन राईदेखि, मुख्मन्त्री हिक्मतकुमार कार्की साथै मन्त्रीहरू विमानस्थल जाने गरेका थिए ।

हिजो भण्डारीको स्वागतमा प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री कार्कीले सुटुक्क भेटे

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मुख्यमन्त्री कार्कीले सोमबार राति करिब १ घण्टा भेटघाट गरेका हुन् ।

कार्कीको सचिवालयले भेटघाट अनौपचारिक भएको बताएको छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राई पुगेका थिए ।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले भेटे पनि कार्यकर्तालाई भने पूर्वराष्ट्रपतिलाई नभेट्न एमालेले उर्दी नै जारी गरेको हाे ।