उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छाैं : प्रचण्ड

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छाैं : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन् ।

सचिवालय बैठकपछि आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पहिलादेखि नै सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रह गरे । सरकार बनेदेखि नै गल्ती भइरहेको उनको आरोप छ ।

अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत भएको प्रचण्डकाे भनाइ छ । उनले भने, ‘उपसभामुख हटाउने कांग्रेस र एमालेकाे कुरा धेरै पहिलादेखिको हो । आदिवासी, जनजाति, सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ । यसको हामी विरोध गर्छाैँ ।’

अध्यक्ष प्रचण्डले उपसभामुखविरुद्ध कुनै नराम्रो काम गरेको प्रमाण नरहेको जिकिर गरे ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्न भन्दै अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानालाई हटाउने तयारी भएको थियो तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।