चोर र तस्कर आरोपको खण्डन नगर्दा राप्रपा अध्यक्ष लिङ्देन अप्ठ्यारोमा

चोर र तस्कर आरोपको खण्डन नगर्दा राप्रपा अध्यक्ष लिङ्देन अप्ठ्यारोमा


ग्लोब नेपाल
8k
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाडी चोर र तस्करीको सार्वजनिक आरोप खण्डन नगर्दा पार्टीका नेता कार्यकताहरुले ‘मुख देखाएर हिँडन गाह्रो भो’ भनेका छन् ।

लिङ्देनले आरोप खण्डन गर्न नसक्दा सम्पूर्ण पार्टीपंक्ति मात्र नभएर लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशम्सेर राणा जस्ता राष्ट्रिय छवी भएका वरिष्ट नेतागण लगायत नयाँ पुस्ताका युवाहरुको व्यक्तित्व र उर्जामा समेत आँच आएको छ ।

‘कस्तो मान्छेलाई अध्यक्ष मानेको ? कि विश्वसनीय रुपबाट आरोपमुक्त हुनुपर्‍यो, नत्र नैतिकताको आधारमा लिङ्देनको राजीनामा माग गर्नुपर्‍यो’ भन्दै पार्टीका नेताहरुमाथि नै सार्वजनिक दवाब पर्न थालेको छ । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खाएको भन्ने लिङ्देनमाथि तस्करी, चोरी र भ्रष्टाचारको आरोप लाग्नु र लिङ्देन मौन बस्नु सामान्य घटनाक्रम होइन ।

लिङ्देनको रहस्यमय मौनताले आरोप ठिक रहेछ भन्ने जनमत एकातिर बनिरहेको छ भने अर्कोतिर अध्यक्षमाथि लागेको सार्वजनिक दागले राप्रपामाथि ठूलो नकारात्मक असर परेको छ । अभियन्ता दुर्गा प्रसाईले आइतबार पत्रकार भेटघाटमा भने, लिङ्देनले भारतबाट चोरीको गाडी ल्याएर विर्तामोड, झापामा गाडी काटेर बेचेको पैसाले भात खान्थे ।

राप्रपाका कार्यसम्पादन समिति सदस्य अर्जुन राईले मंगलबार सार्वजनिक रुपमै गाडी चोरी प्रकरणका कारण ‘मुख देखाएर हिँडन गाह्रो भो’ भने । ‘अध्यक्षज्यू, यो सार्वजनिक कालो दागबाट मुक्ति पाउनका लागी सार्वजनिक रूपमै चुनौती दिनुस् । साथै कानुनी उपचार खोज्नुस् र खोजौ,’ राईले सामाजिक संजालमा लेख्दै अध्यक्ष लिङ्देनलाई भने ।

‘हाम्रा अभिभावक, आस्था र भरोसाका केन्द्र राप्रपाका एकमात्र नैतिकवान, सन्त र स्वच्छ नेता, पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि अभियन्ता दुर्गा प्रसाई, लाक्पा तामाङ लगायतका व्यक्तिहरुबाट हालसालै सार्वजनिक रुपमा लगाएको गम्भीर र नैतिक आरोपप्रति हतप्रभ, शर्मिन्दा र नतमस्तक भएको छु,’ उनले भने ।

राप्रपाका युवा नेता सरिनप्रताप मल्लले पनि ट्रक खाएको, गाडी चोरी र तस्करी गरेको भन्ने लिङ्देनमाथि लागेको सार्वजनिक आरोपमा मानहानीको मुद्दा हालेर राप्रपा पार्टी र नेता, कार्यकताहरुको साख जोगाउन लिङ्देनसँग अनुरोध गरेका छन् ।

लिङ्देनले आफ्नो ट्रक बेचेर खाइदिएको भन्ने बयानसहित इटहरी निवासी पदम अधिकारीको एक भिडियो सन्देश सामाजिक संजालमा हालै भाइरल भएको छ ।

सार्वजनिक रुपमै लिङ्देनलाई लागेको गम्भीर आरोपहरु केवल आरोप मात्र हुन् भनेर लिङ्देनले प्रमाणित गर्न नसके उनको राजनीतिक जीवन धराशयी हुने र आउँदो राप्रपा महाधिवेशनमा उनी उम्मेद्वार हुने नैतिक आधार गुम्ने चर्चा अहिले व्यापक भएको छ ।