काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएको छ । प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न उठाएका हुन् ।
उनले बैठकमा उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको ? भन्ने प्रश्न सोधेपछि सभामुख घिमिरेले उपसभामुख आफ्नो व्यक्तिगत भ्रमणमा गएकाे जवाफ दिएका थिए ।
“उहाँ संसद्को कार्यक्रममा जानुभएको हो कि एनजीओको कार्यक्रममा जानुभएको हो, महासचिवलाई जानकारी दिएको छ ? या पदाधिकारीलाई जानकारी छ ?,” उनले भने ।
सभामुख देवराज घिमिरले उसभामुख अमेरिका गएकोबारे संसद्लाई जानकारी नभएको बताए । तर, आफूलाई जानकारी दिएको उनको भनाइ छ ।
“मलाई जान्छु चाहिँ उपसभामुखले भन्नुभएको थियो । केही दिनमा आउँछु भन्नुभएको छ,” उनले भने ।
अमेरिका भ्रमणमा रहेकी उपसभामुख राना यी भदौ १३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । यता उनीविरुद्ध सत्तारुढ दल एमाले र कांग्रेसले पदीय आचरण विपरीत काम गरेको भन्दै हटाउन भन्दै हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।


प्रतिक्रिया