माओवादीले जनतासँग माफी माग्नुपर्छ : वर्षमान पुन

माओवादीले जनतासँग माफी माग्नुपर्छ : वर्षमान पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्तारुढ दुई ठूला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धृत रहेको बताएका छन् ।

स्व. प्रदीप गिरीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्य शक्तिको दुरुपयोग रोक्न माग गरे । गल्ती गर्ने जो कोही कानुन र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।

उनले भने, ‘दुई ठुला पार्टीहरू सरकारमा हुनुहुन्छ । तपाईंहरुसँग बढी जिम्मेवारी छ । दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको छ ।’
न्यायालय र अख्तियारजस्ता निकायलाई प्रतिपक्षीविरुद्ध दुरुपयोग गर्ने कोसिस भइरहेको बताए । आफ्नो दल सरकारमा हुँदा पनि आफूले विरोधीसँग प्रतिशोध साँध्न राज्य शक्तिको दुरुपयोग गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएको स्मरण पुनले गरे ।

‘विगतमा आफ्नै पार्टीको सरकार हुँदा पनि मैले राज्यसत्ताको दुरुपयोग गरी कसैमाथि प्रतिशोध साँध्न मिल्दैन भनेको थिएँ’, उनले भने, ‘सत्तापक्ष, प्रतिपक्षी वा आफैँभित्रको अर्को 0पक्षविरुद्ध राज्य प्रयोग गरिनुहुँदैन । यो म हिजो पनि भन्थेँ, आज पनि भन्छु ।’

पुनले सरकारमा बसेर एउटा गल्ती ढाक्न अर्को गल्ती गर्दै जाने प्रवृत्ति छाडेर सच्चिन कांग्रेस र एमालेलाई आग्रह गरे । माओवादी केन्द्र आफ्ना गल्तीहरूप्रति जनतासँग माफी माग्न तयार रहेको भन्दै पुनले विगतमा गल्ती सच्याउन तयार रहेको प्रतिबद्धता जनाए ।

‘माओवादी केन्द्र आफ्ना गल्तीमा जनतासँग माफी माग्न र सच्याउन तयार छ । आफूले अवसर पाएका बेलामा ध्यान नपुगेका कुरा स्वीकार गर्न हामीलाई कुनै हिचकिचाहट छैन ।’