काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताएकी छन् । उनले पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहने पनि बताइन् ।
बिहीबार मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’ उनले त्यो भावनाअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने समेत बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याउँदै संसद् नै निरीह थलो बनेर बसिरहेको बताइन् ।
उनले भनिन्, ‘कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन । पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए । संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ । के गर्यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन ।’
उनले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? भन्दै प्रश्न उठाइन् । जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने तर्क गरिन् ।
रास्वपा सभापति रवि लामिछाने,नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेतातर्फ संकेत गर्दै भण्डारीले अहिले पनि संसदका कतिपय सदस्य आरोप लागेका कारण निलम्बित भएको बताइन् ।
भण्डारीले भनिन्, ‘संविधानमा संशोधन गर्ने भनेर सरकार बन्यो तर अहिलेसम्म छलफल हुन सकेको छैन । के विषयमा संशोधन गर्न आवश्यक भएको हो ? यसमा केही भएको देखिदैनन् । आरोप लागेर पुष्टि भएको छैन उसले बोल्न पाउँदैन,निलम्बित भइहाल्छ । निर्वाचित भएर आएका जनप्रतिनिधिले आदर्श अनुसार काम गर्नुपर्छ तर आरोप लाग्यो भन्भ्दैमा निलम्बनमा परिहाल्ने व्यवस्था कति लोकतान्त्रिक हो ? अहिले पनि कतिपय संसद सदस्य आरोप लागेका कारण निलम्बनको यात्रा भोगिरहेका छन् ।’


प्रतिक्रिया