प्रचण्डलाई गगनको प्रश्न– रविलाई राजनीतिक प्रतिशोध हाे भने छविलाई के भएको ?

प्रचण्डलाई गगनको प्रश्न– रविलाई राजनीतिक प्रतिशोध हाे भने छविलाई के भएको ?

सातवटा अदालतले छाड्न अस्वीकार गरेको अभियुक्तलाई भेट्न पूर्वप्रधानमन्त्रीहरुको दौड चलिरहेको टिप्पणी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौं मान्छेहरू पनि सहकारी ठगी आरोपमा थुनामा गएको बताए ।

उनले भने, ‘कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन् । गोर्खा मिडियामा आबद्ध भएका मान्छेहरू पनि भित्र छन् । तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ । नयाँ पार्टी आयो, नयाँ पार्टीसँग अपेक्षाहरू भए । आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा पनि अस्वभाविक होइन । अनि पूर्वप्रधानमन्त्रीहरू राजनीतिक प्रतिशोध भयो भनेर को पहिला भेट्ने भन्दै दौडदै हुनुहुन्छ ।’

उनले सातवटा अदालतले छाड्न अस्वीकार गरेको अभियुक्तलाई भेट्न पूर्वप्रधानमन्त्रीहरुको दौड चलिरहेको टिप्पणी गरे ।

थापाले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध भएको हो भने उही अभियोगका छविलाल जोशीलाई के भएको हो भन्दै प्रश्न उठाए । प्रधानमन्त्री भइसकेको व्यक्तिले अदालतको आदेशका विषयमा गरेको टिप्पणीमा उनको प्रतिटिप्पणी थियो ।

‘रविलाई राजनीतिक प्रतिशोध भएको हो भने सँगै उही अभियोगमा थुनामा रहेका छविलाल जोशीमाथि के भएको हो ?,’ प्रश्न उठाउँदै थापाले भने, ‘९ वटा अदालत, कसैले पनि सफाइ दिएका छैनन् । झन् सर्वोच्चले आठ बुँदामा यी यी कारणले तपाईं दोषी हो भनेर नवौँ बुँदामा यसकारण थुनाबाहिर राख्न मिल्दैन भनेर भनिसकेपछि राजनीतिक प्रतिशोध कसले गरेको हो ?’

उनले राजनीतिक दलले प्रतिशोध साँधे भन्ने रास्वपाका कार्यकर्तालाई लाग्नु, सरकारले अभियोजन गर्दा प्रतिशोध साध्यो भन्ने लाग्नु स्वभाविक प्रक्रिया भएको बताए । सर्वोच्च अदालतले नै प्रतिशोध साध्यो भन्नुलाई स्वाभाविक मान्न नसकिने बताए ।