काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको टिप्पणी गरिन् ।
आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गरिन् । उनले व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको बताइन् । राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि दुःखदायी परिस्थिति बनेको उनको भनाइ थियो ।
“हाम्रो देशको अर्थतन्त्र, मैले त पहिला पनि भन्ने गरेको छु । यहाँ पनि भन्छु । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ,” उनले भनिन्, “आयातमा आधारित भन्सारमा चलिरहेको छ । त्यसले व्यापार सन्तुलन भइरहेको छैन । व्यापार घाटा भइरहेको छ । वैदेशिक ऋण बढिरहेको छ ।”
पूर्वराष्ट्रपति भण्डारीले युवाहरूलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताइन् । नवपुस्ताहरूको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया