भ्रम छर्दै राप्रपा सांसद रोशन कार्की

भ्रम छर्दै राप्रपा सांसद रोशन कार्की



खस–आर्य कोटाबाट समानुपातिक सांसद बनेकी राप्रपाकी रोशन कार्कीले जिल्लाबाट निर्वाचित सांसदको मानमर्दन हुने गरी संसदमा अभिव्यक्ति दिएकी छन् । जिल्लाको विकासमा अहोरात्र खटिएका ओखलढुंगाबाट निर्वाचित सांसद रामहरि खतिवडाको नाम उच्चारण नगरी कार्कीले धन्दा चलाउने ठगजस्ता शब्द प्रयोग गरेर मानमर्दन गरेकी हुन् ।

सांसद कार्कीको लेटरप्याडमा ललितपुर ठेगाना लेखिएको छ । उनले आफ्नो लेटरप्याडमा ओखलढुंगाको एउटा सडक स्तरोन्नतिका लागि शहरी विकास मन्त्रालयमा बजेट दिन निवेदन दिएको भनेर सार्वजनिक गरिएको छ । तर, त्यो सार्वजनिक गरेको पत्रमा मिति समेत उल्लेख गरिएको छैन । त्यो पत्र कति सत्य हो बेग्लै विषय भयो । सत्य नै भएपनि उनले निवेदन दिने वित्तिकै बजेट विनियोजन भैहाल्यो त ? उनले बुधबार संसदमा आफ्नो नेता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र गुरुङको आग्रहमा सिफारिस गरेको बताएकी छन् ।

ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद खतिवडाको विशेष पहलमा शहरी विकास मन्त्रालयअन्तर्गत भौतिक निर्माणका लागि जिल्लामा दर्जनौ आयोजनको लागि बजेट विनियोजन भएको छ । ओखलढुंगाको विकासमा विनियोजन भएको बजेटमध्ये सबैभन्दा बढी शहरी विकास मन्त्रालयबाट भएको छ । शहरी विकास मन्त्रालयबाट मात्रै ओखलढुंगाका लागि ४१ करोड ४१ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये सिद्धिचरण नगरपालिका वडा नं. ११, ३, ४ र ५ मा पर्ने ‘जिउँदो सहिद लोकबहादुर गुरुङ मार्ग’ ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारदेखि ओखलढुंगा सदरमुकाम मिलन चोकसम्म सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

ललितपुर निवासी सांसद कार्कीले लेटेरप्याडमा लेखेर मन्त्रालयमा बुझाउने वित्तिकै ओखलढुंगाको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भयो भन्ने भ्रममा परेर उनले त्यहाँबाट निर्वाचित सांसदको मानमर्दन गरेकी छन् । शहरी विकास मन्त्रालयले ओखलढुंगाका कुन–कुन योजनामा बजेट विनियोजन गरेको छ भन्ने जानकारीसमेत नभएकी राप्रपा सांसद कार्कीले ओखलढुंगाका जनताले मतदान गरी निर्वाचित गरेका सांसद खतिवडाको मात्र होइन, जिल्लाकै प्रतिष्ठामा धावा बोलेकी छन् ।

उक्त योजनामा बजेट पार्नका लागि कहाँ–कहाँबाट सिफारिस गरियो, ती योजनाहरुमा बजेट पार्नका लागि सांसद खतिवडाले कति पापड बेल्नुपरेको थियो भन्ने कुरा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह साक्षी छन् । मन्त्रीको सचिवालयमा गरेको मेहेनतको दशी प्रमाण पनि सबै सुरक्षित छन् । बजेट विनियोजन भएपछि मन्त्रालयबाटै सासंद खतिवडालाई जानकारी गराईएको प्रमाण समेत छन् ।

निर्वाचित सांसदको गरिमालाई बिर्सेर समानुपातिक सांसदले जस लिने नाममा जथाभावी बोल्न छुट हुँदैन । भ्रममा परेर दिएको तुच्छ अभिव्यक्ति फिर्ता लिएर सांसद कार्कीले आफूलाई बेलैमा सच्चाउनु बुद्धिमानी हुनेछ । सामानुपातिकको भ-याङ चढेर संसद पुग्दै असम्बन्धित जिल्लाका आम मतदाताको मानमर्दन हुने गरि अभिव्यक्ति दिने छुट सांसद कार्कीलाई छैन ।