‘माग्ने राजा’ नेपाल र अष्ट्रेलियामा एकैपटक प्रदर्शन

‘माग्ने राजा’ नेपाल र अष्ट्रेलियामा एकैपटक प्रदर्शन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली दर्शकमाझ ‘माग्ने बुढा’ भनेर चिनिने प्रिय कलाकार केदार घिमिरे अब पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका छन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘माग्ने राजा’ यही आजबाट नेपालसँगै अष्ट्रेलियामा पनि भव्यतासाथ एकैपटक प्रदर्शन हुने पक्का भएको छ।

अष्ट्रेलियामा मात्र २५ भन्दा बढी हलमा सयौँ शोसहित रिलिज हुन लागेको यो फिल्मप्रति नेपाली समुदायको उत्साह उच्च देखिएको छ। वितरक कम्पनी थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टका अनुसार फिल्मलाई त्यहाँको बक्स अफिस सिस्टमबाटै रिलिज गर्ने तयारी गरिएको छ। अहिले नै अग्रिम टिकट बुकिङ खुला भइसकेको छ र सुरुवाती चरणमै दर्शकको सकारात्मक प्रतिक्रिया आउन थालेको जानकारी थ्रिकेजीका गोविन्द भण्डारीले दिएका छन्। उनको भनाइमा – “लामो समयपछि नेपाली फिल्म अष्ट्रेलियामा हलमै रिलिज हुन लागेकाले यसले सुखद व्यापार गर्ने विश्वास छ।”

नेपालमै पनि फिल्मको टिकट बुकिङ सुरु भइसकेको छ। मुलुकका ठूला मल्टीप्लेक्सहरुले उत्साहजनक शो दिएका छन् भने अझै थप हलहरूमा बुकिङ खुल्न बाँकी छ। त्यसैले, फिल्मको कुल शो संख्या अझ यकिन हुन बाँकी भए पनि, रिलिजअघि नै बनेको चर्चा र ट्रेलर तथा चर्चित गीत ‘सुतेर उठेको पैसामाले फिल्मलाई दर्शकमाझ विशेष हाइप दिलाएको छ।

मंगलबार उनले काठमाडौं चुच्चेपाटीस्थित मनास्लु कलेज पुगेर त्यहाँका विद्यार्थीहरुसँग भेटघाट गर्दै फिल्म हेर्न निम्तो मात्र दिएनन्, बरु चर्चित गीतमा विद्यार्थीहरुसँगै नाचे पनि। यसरी उनले आफ्ना दर्शकसँग गरेको आत्मीयता फिल्मप्रतिको प्रेम झन् बढाएको छ।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको यस फिल्ममा केदारसँगै आकर्षक अभिनेत्री वर्षा सिवाकोटी, हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा), शारदा गिरी, शिशिर वाङ्देल लगायतको दमदार अभिनय देख्न पाइनेछ। साथै, सुपरस्टार आर्यन सिग्देल पनि विशेष भूमिकामा देखिँदैछन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् भने, प्रस्तुतकर्ता मुनाल घिमिरे र निर्माता मधुसुदन शर्मारहेका छन्।