लिपुलेककाे विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नु पर्छ : प्रवक्ता गुरुङ

लिपुलेककाे विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नु पर्छ : प्रवक्ता गुरुङ

‘उपसभामुखलाई हटाउने सहमति सत्ता गठबन्धनमा भएको छैन’



पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेककाे विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नु पर्ने बताएका छन् ।

पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताए । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको पनि उनले बताए ।

यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पनि प्रवक्ता गुरुङले बताए ।

लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उनले भने, ‘दुई देशको व्यापारको नाउँमा करिडोर, सडक बनाउन पाउँदैन । यो विषय दुई देशको डिप्लोमेटिक चरणमा पुग्यो । अब डिप्लोमेटिक डायलगको माध्यमबाट समस्या समाधान गर्ने हो । लडाइँ लडेर प्राप्त गर्ने कुरा त हामीले कल्पनै गरेका छैनौं ।’

नेपालको निषेधित क्षेत्रभित्र व्यापारका लागि करिडोर बनाउने कुरा नेपालको चासोको विषय भएको उनले बताए ।

भारत र चीनले नेपालको भूमि लिपुलेकपासबाट व्यापार पुन: सुरु गर्ने सहमति गरेपछि फेरि एक पटक विवाद सतहमा आएको भन्दै उनले यस विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरे राम्रो हुने बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले सङ्घीय संसद्की उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा कुनै सहमति नभएको बताए ।

‘सरकारको प्रस्तावमा संसद्ले सभामुख, उपसभामुख गठन गर्ने हो,’ उनले भने, ‘उपसभामुख हटाउने चर्चा भयो होला, तर सत्ता गठबन्धनमा सहमति भएको छैन ।’

‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा हुँदा उहाँ (इन्दिरा राना) उपभामुख बन्नुभएहो हो,’ उनले भने, ‘अहिले परिस्थिति फेरिएको छ, रास्वपा सरकारमा छैन, सत्ता गठबन्धनमा सहमति भयो भने उपसभाममुख परिवर्तन हुन्छ ।’ उपसभामुख हटाउने चर्चा चल्दैमा आकाशै खस्ने भो जसरी नलिन उनले आग्रह गरे ।