काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रसिद काट्दैमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम नहुने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले भण्डारीको सदस्यताबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गरे ।
“अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको छ । खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन,” उनले भने ।
भण्डारीले हारेकाहरूलाई जम्मा गरेर पार्टी एकतामा असहयोग गरिरहेको ओलीको भनाइ छ । पार्टीले दुई पटक राष्ट्रपति बनाएको व्यक्ति फर्केर पार्टीमै समस्या खडा गर्छ भनेर कल्पनासमेत नगरिएको बताए ।
“उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरूलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ,” उनले भने ।


प्रतिक्रिया