अध्यक्ष लिङ्देनमाथि लागेको आरोपप्रति राप्रपाका पूर्वअध्यक्षहरु चिन्तित

अध्यक्ष लिङ्देनमाथि लागेको आरोपप्रति राप्रपाका पूर्वअध्यक्षहरु चिन्तित


ग्लोब नेपाल
6.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनमाथि लागेको आरोपप्रति पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले चिन्ता व्यक्त गरेका छन् । विक्रम पाण्डे, डा. धवलशम्सेर राणा, विक्रम थापा, मुकुन्दश्याम गिरी, कुन्ति शाही, अर्जुन राई, सगुन सुन्दर लावती लगायतका नेताहरुले बिहीबार राणा, शुक्रबार चन्द र आज शनिबार डा. लोहनीसँग भेट गरेका थिए ।

तीन पूर्वअध्यक्षहरु सँगको भेटमा सकारात्मक आश्वासन प्राप्त भएको नेता सगुन सुन्दर लावतीले बताए । तीन पूर्वअध्यक्षहरू सँगको भेटको क्रममा अभियन्ता दुर्गा प्रसाईले अध्यक्ष लिङ्देनले भारतबाट गाडी चोरेको, तस्करी गरेको भनेर आरोप लगाएको विषय छलफलमा उठेको थियो । लिङ्देनले उक्त आरोप खण्डन गर्नु र कानुनी उपचार खोज्नु उपयुक्त हुने कुरा छलफलमा आएको थियो भने पूर्वअध्यक्षहरूले आरोपको विषय गम्भीर भएको भनेर चिन्ता प्रकट गरेका थिए।

तत्काल मिति तोकेर निष्पक्ष, भयरहीत र विश्वसनीय वातावरणमा महाधिवेशन सम्मन्न गर्न जरुरी भएको भन्दै राप्रपाका असन्तुष्ट नेताहरुले तीन पूर्वअध्यक्षहरुको ध्यानाकर्षण गरेका छन् । महाधिवेशनलाई प्रभावित पार्ने गरी महाधिवेशनको मुखमा विधान मिच्दै नेतृत्वले गरेको सबै कारवाही, निष्कासन फिर्ता लिनुपर्ने उनीहरुको भनाइ छ ।

विधानको व्यवस्था सामुहिक नेतृत्वमा आधारित छ तर, पुराना विधानमा जस्तो अध्यक्ष राजेन्द्र लिङ्देनले एकल नेतृत्वको शैलीमा छन्, यसले नै पार्टीमा संकट र समस्याहरु खडा गरेको छ । यही सन्देश र पार्टीभित्रको यथार्थ अवस्था लिएर राप्रपाका नेताहरुले संस्थापक अध्यक्ष लोकन्द्रबहादुर चन्द तथा पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग भेटवार्ता गरेका छन् ।

लिङदेनबाट भएको विधानको श्रृंखलावद्ध उल्लंघन, मन नपरेका पार्टी नेता तथा सदस्यहरुलाई विधान मिच्दै मनलागी कारवाहीबाट उत्पन्न समस्या समाधान गर्न र पार्टी हित संरक्षण गर्नमा असन्तुष्ट नेताहरुले पूर्वअध्यक्षहरुको अभिभावकीय भूमिका अनुरोध गरेका छन् ।