काठमाडौं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता आफैं त्यागेको तर्क गरेका छन् ।
हिजो (शुक्रबार) एमालेको मुख्यालय च्यासलमाआयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भण्डारीले राष्ट्रपति बन्ने क्रममा स्वेच्छाले सदस्यता छोडेको तर्क गरे । कार्यक्रममा ओलीले भने, ‘खोसेको होइन, आफैं छोड्नु भएको हो ।’
उनका अनुसार भण्डारीले सदस्यता नवीकरणबारे पार्टीसँग कुनै छलफल गरेकी थिइनन् । ‘दर्ता चलानी शाखामा शुल्क तिरेर मात्र सदस्यता नवीकरण हुँदैन,’ ओलीले भने ।
उनले थपे, ‘उहाँले पार्टी केन्द्रीय कार्यालयका कर्मचारी झुक्याएर पार्टी सदस्यता नवीकरण गर्नु भएको हो ।’ ओलीले राष्ट्रपतिको कार्यकाल सकेर फर्केपछि भण्डारीले पार्टीभित्र चुनाव हारेका र असन्तुष्टहरूमाझ आधारित समूह बनाएर गतिविधि थालेको आरोप समेत लगाएका थिए ।


प्रतिक्रिया