वीरगञ्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर-१२ मुर्लीको नयाँटोलमा हैजाको संक्रमण पहिचानका लागि गरिएको तीव्र निदानात्मक परीक्षणमा ४० जनामा पोजिटिभ देखिएको छ । संक्रमित २ जना बिरामीको मृत्यु भएको नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिहका अनुसार हैजा फैलिएको आशङ्कामा गरिएको तीव्र निदानात्मक परीक्षणमा झाडापखालाका बिरामीहरू कोलरा पोजिटिभ देखिन थालेपछि महानगरको स्वास्थ्य शाखाले संक्रमण प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
टोलीले सूचना संकलन तथा रोगबाट बच्ने चेतना अभिवृद्धिका काम गरिरहेको छ । यता झाडापखालाका रोगीको सँख्या बढदै गइरहेकाले अस्पतालमा उपचारका लागि शय्या अभाव भएको छ । नारायणी अस्पतालमा एउटै बेडमा दुई जनाको उपचार गर्नु परिरहेको अस्पतालका चिकित्सकहरूले बताए । दूषित पानी वा खाना सेवन र सरसफाइको कमीका कारण हैजा रोगको संक्रमण देखिने गर्छ ।
‘डेडिकेटेड बेड’ छुट्याई उपचार गरिने
जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई यहाँका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।
बैठकले झाडापखाला रोकथामका लागि सबै सरोकार भएका निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुरु गर्ने निर्णय गरेको निमित्त प्रजिअ कार्कीले जानकारी दिए ।
यस्तै, सरसफाई प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला निकायलाई प्रभावकारी परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरेको पनि उनले बताए ।
झाडापखाला, हैजाका लागि जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थालगायतको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन गरी जागरण अभियानसमेत सञ्चालन गरिने जनाइएको छ ।


प्रतिक्रिया