माओवादी पदाधिकारी बैठक एक्कासि स्थगित

माओवादी पदाधिकारी बैठक एक्कासि स्थगित



काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ ।

दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी आएको श्रेष्ठले बताए । यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।

बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

शनिबार एक कार्यक्रममा पार्टी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरेका थिए ।

अध्यक्ष प्रचण्डले बुधवार सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए ।

त्यसको जवाफ दिँदै शर्माले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए ।

यसरी अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच खटपट भइरहेका बेला पदाधिकारी बैठक एक्कासि स्थगित हुनुलाइ अर्थपूर्ण रुपमा हेरिएकाे छ ।