काठमाडौं । जनता समाजवादी पार्टीले संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी गरेको छ ।
खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको हो ।
पार्टीले दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको जसपाका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । सरकारमा सहभागी हुँँदा नै एक वर्षका लागि भनेर पठाइएको हुनाले अहिले सोही निर्णय कार्यान्वयन गर्ने निर्णय गरिएको उनले जानकारी दिए । नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्रीलाई अध्यक्ष अशोक राईले पठाइसकिएको उनले बताएका छन् ।
हाल जसपाका तर्फबाट खानेपानीमन्त्री प्रदीप यादवको ठाउँमा वीरेन्द्र महतोलाई खानेपानीमन्त्री बनाउने तयारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुडीकाे ठाउँमा रञ्जुकुमारी झालाई महिलामन्त्री बनाउने गरी नाम पठाइएको उपाध्यक्ष बस्नेतले बताए ।
प्रधानमन्त्रीले कहिले मन्त्रिपरिषद पुनर्गठन गर्नुहुन्छ चाहिँ यकिन छैन ।
अध्यक्ष राईले अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता आउन पनि निर्देशन दिइसकेका छन् ।
शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा पनि पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा छलफल भएको बताइएकाे छ ।


प्रतिक्रिया