काठमाडौं । भदौ ८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञावली र सुरेन्द्र पाण्डे तथा पोलिटव्यूरो सदस्य कर्ण थापा सहभागी भए । पूर्वराष्ट्रपति भण्डारी सहभागी कार्यक्रममा नेता कार्यकर्ता सहभागी नहुन एमालेले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरिसकेको छ ।
पार्टी निर्देशनविपरित यी शीर्ष ४ नेता पूर्वराष्ट्रपति भण्डारीको कार्यक्रममा किन सहभागी भए ? अब उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न सक्नेलगायतका सवाल उठेको थियो । अध्यक्ष ओलीले यी चार नेतालाई अब भीम रावल बनाउँछन् भन्ने धेरैले अनुमान लगाएका थिए ।
साउन २ गतेको सचिवालय बैठकबाटै यी नेता कारबाहीमा परिसकेका छन् । भदौ २०–२३ गतेसम्म आयोजना गरिएको विधान महाधिवेशनले यो कारबाहीलाई औपचारिकता दिनेछ । साउन १ गते मध्यरातसम्म चलेको बैठकले एमाले सचिवालय नै खारेज गर्ने निर्णय गरेको थियो । सचिवालयको ठाउँमा विधान अधिवेशनपछि पदाधिकारी रहनेछन् ।
१९ सदस्यीय सचिवालय घटाएर १५ सदस्यीय पदाधिकारी बनाइएको छ । अहिलेसम्म अध्यक्ष र महासचिव मात्र पदाधिकारी बन्ने निश्चित भएको छ । बाँकी को–को पदाधिकारी बन्छन् भन्ने निश्चित छैन । उपमहासचिव एकजना, उपाध्यक्षबाट ५ र सचिवबाट ७ जना चयन गर्ने अनौपचारिक छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । तर त्यो अनौपचारिक निर्णयले औपचारिकता पाउने सम्भावना न्यून रहेको विकसित घटनाक्रमले देखाइसकेको छ ।
पार्टीमा अहिले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष ज्ञावली, पाण्डे, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल र गुरुप्रसाद बराल (६), महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल (३) जना र सचिवहरु लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छवीलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल (७) जनाको सचिवालय छ । यो सचिवालयका एकजना सदस्य सचिव टोपबहादुर रायमाझी निलम्बनमा छन् ।
विधान महाधिवेशनपछि १९ सदस्यीय सचिवालय समिति १५ सदस्यीय पदाधिकारीमा रुपान्तरण हुनेछ । यो १५ सदस्यीय पदाधिकारी नै स्थायी समितिमा रुपान्तरण हुनेछ । यो १५ सदस्यीय पदाधिकारीमा उपाध्यक्षहरु ईश्वर पोखरेल, युवराज ज्ञावली, सुरेन्द्र पाण्डे र सचिवहरुमध्ये योगेश भट्टराई वा गोकर्ण विष्टमध्ये एकजना अटाउने छैनन् । भट्टराई वा विष्ट पोटिल्यूरोमा समेटिने छन् भने पोखरेल, ज्ञावली र पाण्डेको हैसियत संगठित कार्यकर्ताभन्दा माथि हुने छैन् । एमालेले श्रोत भन्छ, ‘यी नेता योभन्दा बढी छटपट्टी गर्न थाले भने साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष ओलीले कारबाही गर्न सक्छन् ।’
पार्टी अध्यक्ष ओलीले आफूलाई कारबाही गरिसकेको र विधान महाधिवेशनले त्यसलाई औपचारिकता दिने बुझेर नै पोखरेल, ज्ञवाली र पाण्डे पूर्वराष्ट्रपति भण्डारीको सचिवालय उद्घाटनमा सहभागी भएका हुन् । एमाले श्रोतले भन्यो, ‘अध्यक्ष ओलीको निगाहबाट पद प्राप्त नहुने बुझेरै उनीहरुले नेतृत्वमा रहन संघर्षको बाटो रोजेका हुन् ।’
थापागाउँमा रहेको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयमा एघारौं महाधिवेशनमा अध्यक्ष ओलीबाट नेतृत्व कसरी खोस्ने भन्ने योजना बनिरहेको छ । प्लान ‘डी’ सम्मको खाका तयार भएको समाचारस्रोतको दाबी छ । विधान महाधिवेशनपछि अध्यक्ष ओली कसरी अगाडि बढ्न सक्छन् त्यही हिसाबको रणनीति थापागाउँमा तयार भइरहेको बुझिन्छ ।
उनीहरुको पहिलो योजना अध्यक्ष ओलीलाई ट्याकल दिन पूर्वराष्ट्रपति भण्डारीलाई नै अगाडि सार्ने छन् । कानुनी अड्चन आए प्लान ‘बी’ अनुसार ईश्वर पोखरेललाई अगाडि सार्ने तयारी उनीहरुको छ । उपाध्यक्ष ज्ञवालीका अनुसार प्लान ‘बी’ मा जानु पर्दैन । ‘विद्या भण्डारीको सदस्यता जो नवीकरण भएको छ, नवीकरण भएकोलाई सदर गर्नुपर्छ । उहाँ पार्टी सदस्य भएर क्रियाशील हुन्छु भन्दा क्रियाशील बनाउनुपर्छ । बरु, पार्टीले काम दिएर जिम्मेवारी दिनुपर्छ,’ उपाध्यक्ष ज्ञवालीले भने ।
एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले भण्डारीको राजनीतिक सक्रियता नरोकिने स्पष्ट पारेका छन् । सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमति लिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ । हामी मृत्यु रोजेर, जेल रोजेर जनताको लागि अघि बढेका व्यक्ति हौँ, राजनीति गर्दा देश छोड्नुपर्ने हो वा कसैले देश निकाला गर्छ ? नागरिकता खोस्न सक्छ कसैले ?’ थापाले भने ।
एमालेभित्र अध्यक्ष ओली खेमाविरुद्ध देशव्यापी रुपमा असन्तुष्टि भुसको आगो झै भित्रैभित्रै सल्किरहेको छ । यो आगोलाई ओलीले बेलैमा निभाउन सकेनन् भने ओलीको आडभरोसाका चर्चित नेताहरु समेत विद्या भण्डारी खेमामा नपुग्लान् भन्न सक्ने अवस्था छैन । त्यस्तो अवस्थामा पूर्वराष्ट्रपति विद्या, वरिष्ठ उपाध्यक्ष पोखरेलभन्दा अध्यक्षमा अर्को उम्मेदवार ओलीविरुद्ध खडा हुने सम्भावना पनि उत्तिकै छ । अब ओलीको ‘एक्सन’ र विद्याको रणनीतिले एमालेमा हलचल मच्चिने भने पक्कापक्की छ ।


प्रतिक्रिया