बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउँदै कांग्रेस

बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउँदै कांग्रेस



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने नेपाली काँग्रेसले तयारी गरेको छ । यद्यपि निर्णय हुन भने बाकी छ ।

काँग्रेसका सांसद एवं समितिका एक सदस्यका अनुसार बडुलाई सभापति बनाउने गरी गृहकार्य सुरु भएको हो । बडू पूर्वमन्त्री समेत हुन् ।

सभामुख देवराज घिमिरेले समिति सभापतिको निर्वाचनको मिति बुधबारलाई तय गरेका छन् । नियमावलीको व्यवस्थाअनुसार सभापति रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ । गठबन्धनको दलको सहमति अनुसार समितिको सभापति नेपाली काँग्रेसले पाउने छ ।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।

बडुका अलावा अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानीको नाम पनि चर्चामा छ ।

राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।

नेकपा एमालेले कांग्रेसलाई सभापतिमा सघाउने बताउँदै आएको छ । २७ सदस्यीय समितिमा कांग्रेसका ९ जना छन् । नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो ।

यसबाहेक समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्र नाथ शुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई सदस्य छन् । यो ३ थपिंदा समितिमा सत्तापक्षको संख्या १८ पुग्छ ।

समितिको सभापति कसलाई बनाउने भन्नेबारे अहिले कांग्रेस आन्तरिक छलफलमा जुटेकाे छ ।

समिति सभापतिको निर्णय गर्नका लागि सभापति शेरबहादुर देउवाले सोमबार विहान स्थगित गरेको बैठक फेरि बोलाएका छन् ।

शीर्ष पाँच नेताको बैठक आजै बस्नेगरी बोलाइएको छ । दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकका लागि बोलाइएको छ ।