ओलीले सत्ता छाड्छन् कि छाड्दैनन् भन्ने अलमलबाट कांग्रेस मुक्त हुनुपर्छ : गगन थापा

ओलीले सत्ता छाड्छन् कि छाड्दैनन् भन्ने अलमलबाट कांग्रेस मुक्त हुनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ताहप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान कि नछोड्लान भन्ने अन्योलमा बस्न नहुने बताए ।

उनले पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढेर सबैखाले लोभ र डर त्याग्न नसके पार्टी संगठन कमजोर हुनेप्रति सबै सजग हुनुपर्नेमा जोड दिए ।

“यो बेलामा नेपाली कांग्रेस पार्टी केबाट मुक्त हुनुपर्छ भने २०८४ सालमा मेरो अवस्था के होला भन्ने कुराबाट मुक्त हुनुपर्छ । यसपछि प्रधानमन्त्री आलोपालो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जुन भन्नुहुन्छ नि त्योबाट मुक्त हुनुपर्छ । उहाँले हामीलाई सम्झाउनु हुन्छ नि । उहाँले छोड्नुहोला कि नहोला भन्ने अलमलबाट हामीले मुक्त हुनुपर्छ,” उनले भने ।