हत्यापछि सुटकेशमा शब प्याक गर्ने रुबीकी पूर्वप्रेमी कहाँ छन् ?

हत्यापछि सुटकेशमा शब प्याक गर्ने रुबीकी पूर्वप्रेमी कहाँ छन् ?


ग्लोब नेपाल
7.6k
Shares

गौर । शनिबार दिउँसो २ बजे काजल ब्युटिपार्लर जानका लागि डेराबाट निस्केकी रुबीकुमारी साह कहिल्यै घर नफर्किने गरी बिदा भइन् । तीज र चौरचनका लागि आइतबार घर जाने डेरामा सम्पूर्ण तयारी गरिसकेकी रुबीको प्याकिङ् जस्ताको त्यस्तै रह्यो ।

रुबीको विवाह १२ वर्षअघि भारतको मुजफ्फरपुर रक्साका शिव सागर साहसँग भएको थियो । रौतहट गौर–२ महादेवपट्टीमा डेरा लिएर बस्दै आएकी आमा मिथिलेश देवीकहाँ चार वर्षीय छोरासँगै रुबी केही समयदेखि बस्दै आएकी थिइन ।

साँझको ६:३० बजे घर आउँदैछु भनेकी छोरी नआएपछि ५९ वर्षीया आमा मिथिलेश देवीले करिब ७ बजे फोन गर्दा सुरुमा फोन उठेन र त्यसपछि स्वीच अफ भएको मोबाइल अहिलेसम्म खुलेको छैन ।

रौतहटको माधवनारायण नगरपालिका–६ की साहको शव गौर गङ्गा पिपरा सडक खण्डअन्तर्गत मुडवलावा गेट नजिकबाट सुटकेसभित्र कोचिएको अवस्थामा शनिबार राति भेटिएपछि घटना साधारण हत्या मात्र नभई योजनाबद्ध अपराध भएको परिवारजनको भनाइ छ । घाँटीमा डाम, टाउकोमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा सुटकेशमा शव प्याक गरिएको थियो ।

रुबीको शव भेटिए पनि मोबाइल फोन फेला परेको छैन । रुबीले प्रयोग गर्ने नेपाली नम्बर ९७०५४९९३३५ र भारतीय नेटवर्क कम्पनी एयरटेलको नम्बर ७२५००५४०६६ आइतबार १२ बजेतिर केही बेरका लागि अन भए पनि पछि अफ भएको प्रहरीले गरेको कल ट्रेसले देखाएको छ ।

रुबीका भिनाजु राजन महतोका अनुसार रुबीको बिहेअघि प्रेम सम्बन्ध रहेको र उनकै प्रेमीले हत्या गरेको आशङ्का गरेका छन् ।

बिहे अघिदेखिको प्रेमी केही दिन अघि मलेशियाबाट आएको र एयरपोर्टबाट आउँदै गर्दा राखेको भिडियोमा रहेको सुटकेश नै शव राख्न प्रयोग गरेको उनले दाबी गरे का छन् । उनका अनुसार प्रेमीको टिकटक आइडी shiwark3 मा देखिएको सुटकेशसँग हत्यामा प्रयोग गरिएको सुटकेस मेल खाने भएकाले शङ्का जाने निश्चित छ, अर्कोतिर बिहेपछि पनि रुबी र प्रेमीको फोनमा कुरा हुने, फेसबुक म्यासेन्जरमा कुरा हुनेलगायतका प्रमाणका आधारमा प्रेमीले नै हत्या गरेको दाबी भिनाजुको छ ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार विभिन्न तरिकाले अनुसन्धान अगाडि बढाइएको बताएका छन् । यहाँबाट मात्र सम्भव नदेखिएर काठमाडौंबाट समेत सिआइबीको टोली मगाउन लागिएको उनले बताए ।

प्रहरीले गौरका विभिन्न ठाउँका सीसीटीभी फुटेज सङ्कलन गरिरहेको छ भने काजल ब्युटी पार्लर सञ्चालिका र परिवारका सदस्यसँग बयान लिने क्रम जारी राखेको छ ।

रुबीको पोस्टमार्टम भइ शव परिवारको जिम्मा लगाइएको प्रादेशिक अस्पताल गौरका डा. घनश्याम ठाकुरले जानकारी दिएका छन् । पोस्टमार्टममा समेत केही शङ्कास्पद कुराहरु देखिएको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।