राज्य व्यवस्था समिति सभापति छान्न कांग्रेस शीर्ष नेताहरूबीच छलफल

राज्य व्यवस्था समिति सभापति छान्न कांग्रेस शीर्ष नेताहरूबीच छलफल



काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।

संसदीय समितिहरूमा दलहरूले भागबन्डा गरी सभापति लिएका थिए । जसअनुसार नेपाली कांग्रेसलाई राज्य व्यवस्था तथा सुशासन समिति पनि परेको थियो ।

निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरको विषयमा विवादमा तानिएपछि यसअघिका सभापति रामहरि खतिवडाले राजिनामा दिएका थिए ।

सभापति छान्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएकाे छ ।

बैठकमा सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी छन् ।

मनोनयन दर्ता गर्ने बेलासम्म कांग्रेसले उम्मेदवार तय गर्नपर्नछ ।

समिति सभापतिका लागि कांग्रेस सांसदहरू दीलेन्द्रप्रसाद बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईँको पनि नाम चर्चामा छ ।

२७ सदस्यीय समितिमा कांग्रेसबाट उपसभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा, बडू,, प्रसाई, थानी, ईश्वरीदेवी न्यौपाने, रामहरि खतिवडा र बस्नेत गरी नौ जना सदस्य छन् ।