जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दसैँपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्गो लगाउने बताएका छन् ।
महामन्त्री थापाले बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीको विधान अनुसार ०८३ मंसिरभित्रै १५ औँ महाधिवेशन हुने दाबी गरे ।
आफू अहिले चौधौँ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्ने भूमिकामा रहेको जिकिर गर्दै महामन्त्री थापाले पन्ध्रौँ महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने या नगर्ने भन्नेतिर अहिले नै विचार नगरेको बताए । उनले नयाँ क्रियाशील सदस्यता वितरण र पार्टी विधान संशोधनको कामसमेत आगामी महाधिवेशनअन्तर्गत नै हुने उल्लेख गरे ।
उनले मुलुकलाई लोकतन्त्र, सुशासन र विकासको मार्गमा अघि बढाउन पार्टीले दृढ भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पार्टीलाई अझ सुदृढ बनाउन संगठन विस्तारमा जोड दिइने र जनताको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न पहल गरिने उनको भनाइ थियो ।
महामन्त्री थापाले पार्टीभित्र देखिएका आन्तरिक चुनौतीलाई सहमति र संवादमार्फत समाधान गर्दै अघि बढ्ने स्पष्ट पारे ।
उनले वर्तमान सरकार दुईभन्दा बढी दलको सहमतिमा बनेको हुँदा सहयात्री सबै दललाई समेटेर अघि बढ्न जरुरी रहेको जिकिर गरे । उनले तत्काल सरकार परिवर्तन नहुनेसमेत प्रस्ट पारे ।
उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्छ
महामन्त्री थापाले बिहीबार नै महोत्तरीमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै सरकारले आन्दोलनरत उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।
उनले उखु कृषकलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७५ अन्तर्गत चालु आवका लागि दुई अर्ब रुपियाँ छुट्याएको र यसमा २०, २५ करोड थप गर्दा अहिले पैसा दिन अप्ठेरो नपर्ने बताए ।
सरकार आफैले अनुदान तोक्ने अनि तोके अनुसारको रकम नदिँदा समस्या भएको विषयमा कृषिमन्त्रीसँग छलफल गरेको जानकारीसमेत महामन्त्री थापाले गराए ।
महामन्त्री थापाले भने, ‘सरकारले तत्काल आन्दोलनरत उखु किसानको माग सम्बोधन गर्नुपर्छ । त्यसपछि उखु उत्पादन र उत्पादकसँग जुटेका समस्यालाई दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्छ ।’ बिहीबार साँझसम्म उखु किसानको समस्या समाधान हुने उनको विश्वास छ ।


प्रतिक्रिया