काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनको बेइजिङमा हुने सैन्य परेडको अवलोकन गर्ने भएका छन् ।
शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५औं शिखर सम्मेलनमा भाग लिन पर्सि शनिवार चीन जान लाग्नुभएका प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ तारिख अर्थात् भदौ १८ गते हुने ७० मिनेट लामो परेडको अवलोकन गर्ने भएका हुन् ।
चीनको विदेश मन्त्रालयले आज बिहान आयोजित पत्रकार सम्मेलनमा २६ जना विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले परेड अवलोकन गर्ने जानकारी गराएको छ । यसमा नेपालका प्रधानमन्त्री ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन लगायत हुनेछन् । उत्तर कोरियाली नेता उनको यो पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय बैठक हुनेछ ।
जापानी अतिक्रमणविरुद्ध चिनियाँ युद्ध तथा फासिस्टवाद विरोधी विश्वयुद्ध विजयको ८०औं वर्षगाँठका अवसरमा चीनले परेड प्रदर्शन गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा चीनका सहायक परराष्ट्रमन्त्री हुङ लेइले यस पटकको परेड उच्चस्तरीय, प्रतिनिधित्वपूर्ण र व्यापक सहभागितामूलक हुने बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


प्रतिक्रिया