काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यही भदौ १४ देखि १८ गतेसम्म आफू चीनको पाँचदिने भ्रमणमा जान लागेको जानकारी दिए । “यस भ्रमणको उदेश्य सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु हो,” उनले भने ।
सांघाई सहयोग संगठन सन् २००१ मा स्थापना गरिएको ठूला क्षेत्रीय संगठनमध्ये एक भएको उनले जनाए । “नेपाल सन् २०१६ देखि यसको संवाद साझेदार रहँदै आएको छ । यहाँ जानुको उदेश्य नेपालको स्तर अभिवृद्धि गर्नु, नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट राख्नु र नेपालको हित प्रवर्द्धन गर्नु रहेको छ,” उनले भने ।
चीन भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग आफूले भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले स्पष्ट पारे ।
एससीओ शिखर सम्मेलनका दौरान विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणमा दुई मन्त्री, दुई सांसदसहितका नेता एवं उच्च पदस्थ कर्मचारीहरू सहभागी हुने भएका छन् ।
हालसम्म रूसीका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको बताए ।
प्रधानमन्त्रीका अनुसार भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।


प्रतिक्रिया