काठमाडौं । अन्ततः संसदीय सुनुवाई समितिको जिम्मेवारी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई दिने तयारी भएको छ । संसदमा उपसभामुख इन्दिरा रानामगरले शुक्रबार उनलाई सुनुवाई समितिको सदस्यमा सर्वसम्मत भएको घोषणा गरेकी थिइन् । सभापतिको जिम्मेवारी दिनकै लागि नै खतिवडालाई सुनुवाई समितिमा ल्याइएको संसद परिसरमा चर्चा चलेको छ ।
निजामति विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ छेडखानीमा नैतिकता देखाउँदै खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका थिए । निजामति ऐनमा दुई वर्ष ‘कुलिङ अफ पिरियड’को व्यवस्था राख्नुपर्छ भन्ने खतिवडालाई षड्यन्त्रमूलक ढंगबाट दोषी देखाउने प्रयास भएको थियो । यी सबै कुरा बुझेर तत्कालीन राज्य व्यस्था समितिका सभापति खतिवडाले पदबाट राजीनामा दिएका थिए ।
खतिवडा षड्यन्त्रको कोपभाजनमा परेका हुन् भन्ने कुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले राम्रोसँग बुझेका थिए । षड्यन्त्रको पर्दाफास गर्दै देश र जनताको पक्षमा काम गर्ने खतिवडाको उत्साहलाई ‘डिमोरलाइज’ गर्नुहुँदैन भन्ने कुरामा पार्टी स्पष्ट थियो ।
देउवा निवासमा भएको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका रामहरि खतिवडालाई अन्याय भएको छ, उसलाई पनि समेट्नुपर्छ भनेका थिए । सभापति देउवाको भनाईपछि उपसभापति खड्काले संसदीय सुनवाइ समिति वा मुख्य सचेतकमध्ये एउटा जिम्मेवारी खतिवडालाई दिने प्रस्ताव गरेका थिए ।
कांग्रेस मुख्य सचेतक श्याम घिमिरेलाई संसदीय सुनवाई समितिको सभापति बनाउने अथवा खतिवडालाई नै उक्त जिम्मेवारी दिने विषयमा कांग्रेस निर्णयमा पुगेको थिएन । कुन जिम्मेवारी रोज्ने भन्ने जिम्मा खतिवडालाई नै दिने बैठकमा सहमति भएको थियो ।
रामहरि खतिवडाबारे सोधिएको एक प्रसँगमा महामन्त्री थापाले भने, ‘व्यक्ति यो वा त्यो भनेर हुँदैन, दिएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्नेलाई पार्टीले जहिले सम्झिनुपर्छ । त्यसैले खतिवडालाई कुनै न कुनै जिम्मेवारी दिन पार्टी एकमत भएको हो ।’
समाचारस्रोतका अनुसार मन्त्रालयको जिम्मेवारी नपाउञ्जेल खतिवडालाई संसदीय सुनवाइ समितिको नेतृत्व दिइन लागिएको हो । पार्टी सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा समेत मन्त्रालयको टुंगो नलागूञ्जेल संसदीय समितिको जिम्मेवारी दिन कांग्रेस पदाधिकारी बैठक एकमत देखिएको थियो ।
संसदीय सुनवाइ समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएपछि ग्लोब नेपालले सोधेको प्रश्नको जवाफ दिँदै खतिवडाले भने, ‘म कांग्रेसको इमान्दार सिपाही हुँ, पार्टीले जे जिम्मेवारी तोक्छ, इमान्दार र कर्तव्यनिष्ठ भएर त्यो पूरा गर्न तयार छु ।’
कुनै तिलस्मी घटना भएन भने भदौको २५ गतेभित्र खतिवडा संसदीय सुनवाइ समितिको सभापति निर्विरोध निर्वाचित हुने छन् । प्रतिनिधिसभा नियमावलीअनुसार समितिको सभापति खाली भएको १५ दिनभित्र छनोट गर्नुपर्नेछ ।
यसअघि पार्टीको निर्णय अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुन संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएकी थिइन् ।


प्रतिक्रिया